सहमति नभए कांग्रेस संसदीय दलको निर्वाचन बुधबार, देउवा, कोइराला र गगन भिड्ने


काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि निर्वाचन नै हुने भएको छ । संसदीय दलको निर्वाचन गर्न बनेको तीन सदस्यीय निर्वाचन समितिले बुधबार चुनाव गर्ने निर्णय गरेको हो ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले संसदीय दलको निर्वाचन गर्न समिति बनाएको थियो । सहमहामन्त्री भिष्मराज आङदेम्बेको संयोजकत्वमा रहेको समितिमा केन्द्रीय सदस्यहरु पुष्पा भुसाल र प्रकाश रसाईली स्नेही सदस्य छन् ।

अहिले सहमतिको प्रयास भइरहेको र सहमति हुन नसकेमात्र बुधबार चुनाव हुने जनाइएको छ ।

‘अहिले सहमतिको प्रयास भइरहेको छ । सहमति हुन नसके बुधबार चुनावद्वारा संसदीय दलको नेता चयन गरिनेछ,’ संसदीय दल निर्वाचन समितिका सदस्य स्नेहीले बताए ।

संसदीय दलमा हालसम्म तीनजनाको आकांक्षा देखिएको छ । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा संस्थापन टिमबाट र इतरसमूहबाट नेता शेखर कोइराला र महामन्त्री गगनकुमार थापा दलको नेता लड्ने तयारीमा छन् ।

कांग्रेसका समानुपातिक ३२ र प्रत्यक्षतर्फबाट निर्वाचित ५७ गरी जम्मा ८९ सांसदहरुले दलको नेतामा भोट हाल्नेछन् ।

प्रतिक्रिया