

शहीद हुनुअघि गंगालालले गणेशमान सिंहलाई भनेका थिए– ‘डोन्ट फर्गेट माई ब्लड’

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमानसिंहले शहिद दिवसका अवसरमा गंगालाल श्रेष्ठले जेलभित्रै आफ्ना बाबु गणेशमान सिंहलाई भनेको शव्दलाई सामाजिक सञ्जालमा उतारेका छन्।
योसँगै उनले स्वतन्त्रताको व्याख्या पनि गरेका छन्। उनले लेखेका छन्–
शहीद हुनुअघि गंगालाल श्रेष्ठले जेलभित्रै गणेशमान सिंहलाई भन्नुभएको अन्तिम वाक्य ‘डोन्ट फर्गेट माई ब्लड’ आजको दिनमा थप ताजा भएर आएको छ ।
शहीदहरूले बलिदान दिएकैले आज हामीले निर्वाध नागरिक अधिकारको प्रयोग गरिरहेका छौं । स्वतन्त्रताको लामो श्वास फेर्न पाइरहेका छौं ।
देश नै बन्द कठघराजस्तो रहेका बेला प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताका लागि लड्दालड्दै शहीद हुनुभएका गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्द सधैं नेपालीको मनमुटुमा रहिरहनुहुनेछ । शहीद दिवसको दिन उहाँहरूप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शहीदहरूले देखाएको बाटोमा हिँड्ने प्रण गर्दछु ।
उहाँहरूको बलिदानबाट प्राप्त उपलब्धिमाथि आज सरकारमै रहेकाहरूबाट खतरा देखिएको छ । शहीदको बलिदानबाट प्राप्त उपलब्धिमाथि धावा बोल्ने केपी ओली प्रवृत्तिविरूद्ध अहिले एक भएर लड्नुपर्ने अवस्था छ ।
अझै पनि शहीदहरूले देख्नुभएको सपना साकार हुन बाँकी छ । शहीदले देखेका सपना सार्थक बनाउने सामर्थ्य हामीलाई प्राप्त हुन सकोस् । नागरिकका अधिकार पूर्ण स्थापित गर्न, जनताको जीवनस्तर उठाउन र देशलाई समृद्ध बनाउनुपर्ने काममा इमान्दार भएर लाग्न पनि यो दिनले हामी सबैलाई उत्प्रेरित गर्न सकोस् । पुनः महान शहीदहरुप्रति श्रद्धासुमन ।

