

कोरोना नियन्त्रण व्यवस्थापनमा नेपाल ७० औं नम्बरमा

काठमाडौं – कोभिड–माहामारी आएसंगै कुन देशको व्यवस्थापन कस्तो रह्यो भन्ने अध्धयनमा नेपाल ७० औं स्थानमा छ । ९८ देशहरुमा गरिएको अध्ययनमा नेपाल ७० औं स्थानमा रहेको हो ।अष्ट्रेलियाको सिड्नीस्थित थिंक ट्याङ्क लोवी इन्स्टीच्युटले ९८ देशलाई यस अध्ययनमा समावेश गरेको छ।
उक्त अध्ययन अनुसार कोभिड नियन्त्रण व्यवस्थापनमा न्युजिल्यान्ड पहिलो नम्बरमा रहेको जनाएको छ। यसरी कोभिड नियन्त्रण व्यवस्थापनमा सफल पाँच देशमा न्युजिल्यान्डसँगै भियातनाम, ताइवान, थाइल्यान्ड र साइप्रस परेका छन्।
यता बटम फाइभको अन्तिममा ब्राजिल परेको छ। ब्राजिललाई पछ्याउँदै मेक्सिको, कोलम्बिया इरान र अमेरिका बटम फाइभमा परेको छ। यो व्यवस्थापनमा भारत ८६ नम्बरमा पर्दा नेपाल ७० औं नम्बरमा परेको इन्स्टिच्युटले उल्लेख गरेको छ।
यद्यपि, अध्ययनमा कोभिड–१९ को मुहान मानिएको चीन भने यो सूचीमा समावेश छैन। संक्रमित संख्या, मृत्यु भएका संख्या, प्रति मिलियनमा संक्रमित संख्या, प्रति मिलियनमा मृत संख्या र परीक्षणलाई अध्ययनको आधार बनाइएको बताइएको छ। कोरोना शुरु भएदेखि यही जनवरी ९ सम्मको तथ्यांकलाई अध्ययनमा समावेश गरिएको लाेवीले जनायो।
टप फाइभमा परेका देशको अवस्था
कोभिड नियन्त्रण व्यवस्थापनमा पहिलो नम्बरमा परेको न्युजिल्यान्डमा कोरोनाका कारण हालसम्म २५ जनाको मृत्यु भएको जोन हप्किन्स् युनिभर्सिटीको तथ्यांकमा उल्लेख छ। यहाँ दुई हजार २९९ जनामा संक्रमण पुष्टि भएको देखिएको छ। यसैगरी दोस्रो नम्बरमा परेको भियातनाममा कोरोनाको कारण हालसम्म ३५ जनाको मृत्यु भएको उल्लेख छ। भियातनाममा एक हजार ६५१ जनामा संङ्क्रमण पुष्टि भएको छ।
व्यवस्थापनमा तेस्रो नम्बरमा परेको ताइवनमा हालसम्म कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ। यहाँ ८९५ जनामा संक्रमण पुष्टि भएको छ।
चौथो नम्बरमा परेको थाइल्यान्डमा कोरोनाका कारण ७६ जनाको मृत्यु भएको छ भने यहाँ १६ हजार २२१ जनामा संक्रमण पुष्टि भएको छ। पाँचौ नम्बरको साइप्रसमा कोरोनाका कारण १९७ जनाको मृत्यु छ भने हालसम्म ३० हजार ५३८ जनामा संक्रमण पुष्टि छ।

