
नयाँ सरकार गठनका लागि गठबन्धनको तयारी तीब्र, कांग्रेस माओवादी आन्तरिक छलफलमा जुटे
काठमाडौं – नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनले आन्तरिक छलफल सुरु गरेका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको मत परिणाम राष्ट्रपतिलाई बुझाएसँगै गठबन्धनमा आबद्ध दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेका हुन्। दुवै दलले आज बैठक बोलाएका छन्।
कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिए। उनका अनुसार आमनिर्वाचनको परिणाम र अबको राजनीतिक कदमबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो।
बैठकमा संसदीय दलको निर्वाचन र आगामी सरकार गठनलगायत विषयमा समेत छलफल हुनेछ।
यस्तै, नेकपा (माओवादी केन्द्र) ले पनि पदाधिकारी बैठक बोलाएको छ। महासचिव देव गुरुङले बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने जानकारी दिए। बैठकमा सरकार गठन र संसदीय दलका नेता चयन लगायतका विषयमा छलफल हुने उनले बताए।
माओवादीमा दलको नेता प्रचण्ड हुने निश्चित छ। माओवादीले आफ्ना अध्यक्ष प्रचण्डलाई नै प्रधानमन्त्रीका रूपमा अघि सारेको छ। तर, हाल कायम पाँच दलीय गठबन्धनभित्र सहमतिका आधारमा सरकारको नेतृत्व गर्नेबारे छलफल भइरहेका बेला माओवादीले पदाधिकारी बैठक बोलाएको हो।



कागजपत्र |
