ललितपुरका मेयरसँग बालेनले राखे सहकार्य गर्न दुई प्रस्ताव


ललितपुर – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ललितपुर महानगरपालिकासँग सहकार्य गरेर काम गर्न प्रस्ताव गरेका छन्।

ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित एक कार्यक्रममा बोल्दै मेयर शाहले नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना र बागमती नदीको सफाइका लागि सहकार्य गर्न प्रस्ताव गरेका हुन्।

यी दुवै काम काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका एक्ला एक्लैले गर्न नसक्ने भएकाले यसमा दुवै महानगरपालिकाको सहकार्य अनिवार्य रहेको उनको तर्क थियो।

मेयर शाहले नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय र बागमती सफाइको काममा मात्रै दुवै महानगरपालिकाले सहकार्य गरेर गए त्यो काठमाडौं उपत्यकाको विकासको लागि नै राम्रो सन्देश हुने समेत स्पष्ट पारे।

उनले हाम्रो कला, संस्कृति र सभ्यता नयाँ पुस्तालाई हस्तान्तरण गर्न र यसलाई अन्तर्राष्ट्रियकरण गर्न पनि नेवाः सम्बन्धी विश्वविद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै जग्गाको आवश्यक व्यवस्था भने ललितपुर महानगरपालिकालाई मिलाउन सहज हुने धारणासमेत राखे।

मा जसरी अहिले ललितपुर महानगरपालिकाले ढुंगेधारा, पुरानो हिटीहरूको संरक्षणमा अग्रसर भएको छ। त्यो कुराहरूलाई हामीले पनि अब पुल्चोक इन्जिनियरिङ कलेजसँग समझदारी गरेर हाम्रो हिटीहरुको पुनःस्थापनाको काम गर्दैछौं। अर्को कुरा ललितपुर महानगरपालिका एकदमै जेठो नगरपालिका भएको हुनाले हाम्रो सम्पदा, संस्कृति अथवा नेवाः सभ्यतासम्बन्धी युनिभर्सिटीका लागि पनि पहल गरिदिन पनि म यहीबाट अनुरोध गर्न चाहन्छु। त्यसका लागि काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले सहकार्य गरेर गर्नसक्छु, उनले अगाडि भने।

उनले प्राचिन ढुंगेधाराहरूको संरक्षणमा ललितपुर महानगरपालिकाले अघि सारेको अवधारणाबाट सिकेर आफूहरूले पनि सो कामलाई अघि बढाउन पुल्चोक इन्जिनियरिङ कलेजसँग सहकार्य गरेर अघि बढ्न लागेको जानकारी समेत दिए।

प्रतिक्रिया