

बागलुङमा २० प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ

बाग्लुङ – बागलुङ जिल्ला अहिलेसम्म खाद्यान्नमा आत्मनिर्भर बन्न सकेको छैन । जिल्लामा खेतीयोग्य जमिन नभएर होइन ।
बागलुङ भौगोलिक हिसाबले केही क्षेत्र समथर भए पनि अधिकांश भू–भाग भिरालो छ । यी क्षेत्रमा अहिलेसम्म सिँचाइको सुविधा पुग्न नसक्दा कृषक परनिर्भर पर्नुपरेको हो ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङबाट चालू आर्थिक वर्षमा जिल्लाभर १३७ वटा योजना परेका छन् । यी सबै प्रदेश तथा संघीय सरकारबाट अनुदान प्राप्त योजना हुन् । जिल्लाको १० वटै पालिकामा योजना परेका छन् ।
सबैभन्दा बढी योजना गलकोट नगरपालिकामा र सबैभन्दा कम तमानखोला गाउँपालिकामा परेका छन् । जिल्लामा सहजरूपमा सिँचाइको व्यवस्थापन गर्न सरकारले हरेक वर्ष करोडौंका योजना पार्दै आएको छ ।
यस वर्ष केन्द्र सरकारले ७ करोड ५७ लाख र प्रदेश सरकारले ११ करोड ६७ लाख ३० हजार बजेट विनियोजन गरेको छ । १० वटै पालिकामा सहजरूपमा सिँचाइको व्यवस्थापन गर्ने योजनाअनुरूप काम अगाडि बढाइएको छ । जिल्लामा अधिकांश क्षेत्र पाखोबारी र केही भाग मात्रै समथर भूभाग भएको हुँदा सबै क्षेत्रमा सिँचाइको व्यवस्थापन गर्न कठिन देखिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका निमित्त डिभिजन प्रमुख झकलमान ओझाले जानकारी दिए ।
उनले कार्यालयबाट सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी काम हुँदै आए पनि जनताको चाहनाअनुसार काम हुन नसकेको बताए । ‘अहिलेसम्म बागलुङमा खेतीयोग्य जमिनको २० प्रतिशत मात्रै सिँचाइ गर्न सकेका छौं, जिल्ला भौगोलिक रूपमा विकट छ, खेतीयोग्य जमिन धेरै ठाउँमा छरिएर रहेको हुँदा जनताले चाहेअनुसार सिँचाइको व्यवस्थापन हुन सकेको छैन,’ ओझाले भने ।
बागलुङमा सिँचाइ योजनाको माग निकै बढेको र कार्यालयले सबै क्षेत्रमा सिँचाइको पहुँच पुर्याउने लक्ष्य भए पनि पछिल्लो समय धान तथा गहुँ खेती हुने खेतबारीमा सिँचाइका योजना पर्ने गरेको उनले बताए । सिँचाइको पहुँच पुगेपछि धान फल्ने क्षेत्रफल पनि बढेको छ ।
गत वर्ष ५ हजार ८०० हेक्टर क्षेत्रफलमा धान लगाइएकोमा यस वर्ष ६ हजार हेक्टर बढी क्षेत्रफलमा रोपाइँ भएको थियो । सिँचाइ राम्रो भएपछि यस वर्ष जिल्लामा धान उत्पादन समेत बढेको पाइन्छ । गत वर्ष १८ हजार ३५४ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष १८ हजार ६९० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

