

दुई दाजुभाइले परिवारका ८ सदस्यको शव उठाउँदा अस्पताल नै शोकमग्न

काभ्रे – बनेपा–११ सल्लेका अमर–जयराम तामाङ दाजुभाइ वैदेशिक रोजगारमा गएको ६ महिना पनि भएको थिएन । बेरोजगारीले सताएपछि २३ वर्षीय अमर असारमा जापान र दाजु जयराम असोजमा मलेसिया उडेका थिए । चार दाजुभाइमध्ये अमर कान्छो र जयराम साइँलो हुन् ।
केही वर्ष विदेशमै पसिना चुहाएर घर फर्किने योजनामा उनीहरू ढुक्क बन्दै थिए । तर, मंगलबारको घटनाले छोटो समयमै स्वदेश फर्किनुपरेको छ ।
उनीहरूको परिवार बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टीमा भान्जाको छेवर (व्रतबन्ध) मा सहभागी हुन गएका थिए । शुभकार्य सकेर फर्कंदै गर्दा उनीहरू चढेको बा३ख ४३८५ नम्बरको बस बेथानचोक–४ चलाल गणेशस्थानमा दुर्घटनामा पर्यो । १७ जनाले ज्यान गुमाएकामा तामाङ परिवारभित्रकै आठ सदस्य परेका थिए ।
दुर्घटनामा उनीहरूले ७९ वर्षीया हजुरआमा निर्मलामाया तामाङ, ५५ वर्षीय बुबा कुमार, २८ वर्षीया जेठी भाउजू मञ्जु, ११ वर्षीय भतिज पुष्कर, ३० वर्षीय माइलो दाइ बुद्ध, २७ वर्षीय माइली भाउजू कोपिला, ५० वर्षीय काका आकुर र ४३ वर्षीया काकी हेमालाई गुमाए । गम्भीर घाइते भएका जेठा दाइ राजनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । ६ वर्षीया भतिजी श्रेया घाइते छिन्, उनले दुर्घटनामा आमाबुबा दुवैलाई गुमाइन् । शव जिम्मा लिने व्यक्ति नहुँदा चार दिनदेखि आठ वटै शव धुलिखेल अस्पतालमा राखिएको थियो ।
बिहीबार राति मात्रै दाजुभाइ फर्किएपछि शुक्रबार दिउँसो अस्पतालले जिम्मा लगाएको थियो । शव गृहबाट एकै परिवारको आठ वटा शव निस्किँदा दाजुभाइ सम्हालिन सकेनन् भने सँगै गएका आफन्त र गाउँले पनि भावविह्वल बने । बुद्ध धर्म मान्ने भएकाले मृतक सबैको अन्त्येष्टिका लागि काठमाडौंको स्वयम्भू लगिएको बनेपा नगरपालिका–११ का वडाध्यक्ष शिवकुमार थापाले बताए । उनका अनुसार दुर्घटनामा मृत्यु भएका अरू ९ जनाको बुधबार नै अन्त्येष्टि गरिएको थियो ।
शुक्रबार पीडित, यातायात व्यवसायी र स्थानीय जनप्रतिनिधिबीच भएको छलफलमा घाइते र मृतकका परिवारलाई क्षतिपूर्ति दिलाउन यातायात व्यवसायी सहमत भएको समाचार इकान्तिपुरमा प्रकाशित छ ।

