

प्रचार प्रसारको अभावमा अपी नाम्पा संरक्षण क्षेत्र, ५ महिनामा ३ जना मात्रै पर्यटक

दार्चुला – दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्र प्रचार प्रसारको अभावमा पर्यटन आवागमनमा कमी आएको छ । आर्थिक वर्षको पाँच महिना बितिसक्दा समेत अपी नाम्पा संरक्षण क्षेत्रमा ३ जना मात्रै पर्यटक भित्रिएको कार्यालयले जनाएको छ।
अपी नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने पर्यटकीय स्थलहरुमा घुम्नको लागि आउने विदेशी पर्यटकहरुको संख्यामा विगतको तुलनामा अपेक्षित रुपमा पर्यटकहरुको आगमन हुन नसकेको बताइएको छ । अहिलेसम्म ३ जना विदेशी पर्यटकहरु मात्रै अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयमा घुम्न आएको कार्यालय प्रमुख नुरेन्द्र अर्यालले जानकारी दिए।
अपी नाम्पा संरक्षण कार्यालयमा अहिलेसम्म १ जना सार्क राष्ट्रका नागरिक र अन्य दुई जना सार्क राष्ट्रभन्दा बाहिरका रहेको कार्यालयले जनाएको छ । कार्यालयले सार्क राष्ट्रका पर्यटकहरुलाई ५ सय तथा सार्क बाहेकका पर्यटककाे लागि २ हजार रुपैँया प्रवेश शुल्क लिने गरेको छ।
अपी नाम्पा संरक्षण क्षेत्र दार्चुलाका ५ गाउँपालिका र महाकाली नगरपालिकाको केहि भू-भाग गरी एक हजार ९०३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यहाँको हिमाल, तालतलैया, जडीबुटी, वन्यजन्तु तथा संस्कृतिको अध्ययन अनुसन्धानको लागि विदेशी पर्यटक भित्रिने गरेको अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुलाका ६ ओटा पालिकामा पर्ने साविकका २१ वटा गाविस समेटेर संरक्षण क्षेत्र २०६७ सालमा स्थापना भएको हो । ब्यास, अपी हिमाल, नौगाड, मार्मा, दुहु गाउँपालिकाको अधिकांश भूभाग तथा महाकाली नगरपालिकाको केही क्षेत्रमा फैलिएको संरक्षण क्षेत्र धार्मिक, ऐतिहासिक पर्यटकीय क्षेत्रहरु र प्राकृतिक स्रोत साधनले भरिपूर्ण छ ।
पर्यटकहरुको मन लोभ्याउने थुप्रै जीवजन्तु, प्राकृतिक स्रोत साधनले भरीपूर्ण भए पनि यातायातको असुविधा, पर्यटकीय पदमार्गको अभाव, दक्ष गाइड र उपयुक्त बसोबासको अभाव, पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार अभाव लगायत कारणले पर्यटकहरु अपी नाम्पा संरक्षण क्षेत्रमा पुग्न कठिनाइ भइरहेको कार्यालयले जनाएको छ ।
जिल्लाकै एकमात्र गोकुलेश्वर विमानस्थलको सञ्चालन, पर्यटकीय पदमार्ग निर्माण र राष्ट्रिय अन्तर्राष्टिय स्तरमा प्रचार-प्रसार हुन सके अपीनाम्पा संरक्षण क्षेत्र पर्यटकहरुको लागि उचित गन्तव्य हुने कार्यालयकाे भनाइ छ ।
यस संरक्षण क्षेत्रभित्र बहुमूल्य जडीबुटी यार्सागुम्बा, जटामसी, सुगन्धवाल, लौठ सल्ला, बाेजाे, वन लसुन, पाँचऔले, कटुकी लगायतका ७५ प्रकारका जडीबुटीहरु पाइन्छन् ।

