चितवनमा २ दिनमा २ वटा गैँडा मृत फेला


चितवन – चितवन राष्ट्रिय निकुञ्जमा दुई दिनमा दुई वटा गैँडा मृत फेला परेका छन् । निकुञ्जका अनुसार मङ्सिर २८ गते बुधवार र आज बिहीवार दुई वटा गैँडा मृत अवस्थामा फेला परेका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान ५ बजेर ५५ मिनेटमा राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर लामीचौर पोस्टअन्तर्गत गुन्द्रहीढका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पोथी गैँडा मृत अवस्थामा फेला परेको छ ।

एकापसमा जुधेर १५ वर्षीय गैँडा मरेको अनुमान गरिएको उनले बताए । गैँडाको खाग, खुर सुरक्षित रहेको उनले जानकारी दिए । यस्तै हिजाे यही क्षेत्रको कुजौली रेन्जर पाेस्टअन्तर्गत नारायणी नदी किनामा छ महिनाको केटो (भाले गैँडा) मृत अवस्थामा भेटिएको छ ।

हिजाे बिहान ११ बजे निकुञ्जको नियमित गस्ती टोलीले गैँडा मृत अवस्थामा फेला पारेको उनले जानकारी दिए । बाघको आक्रमणमा परि मरेको अनुमान गरिएको छ । त्याे केटाको खाग नपलाएको र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ ।

योसँगै चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्ष २०७९/०८० मा पाँच वटा गैँडा मरेका छन् ।

प्रतिक्रिया