मेयर गणेशले कसे प्रतिस्पर्धी मनिषासँग लगनगाँठो

चामुण्डा बिन्द्रासैनीकी मनिषा कार्की ‘मत’ले गणेशबहादुर शाहीसँग पराजित भए पनि ‘मन’ ले भने दुवैले जित हात पारेका छन्


दैलेख – गत स्थानीय निर्वाचनमा दैलेख चामुण्डा विन्द्रासैनीकी मनिषा कार्की मेयर पदका लागि नेपाली कांग्रेसका गणेशबहादुर शाहीबाट मतका कारण पराजित भएपनि अहिले भने ‘मन’ बाट विजयी भएकी छिन् । निर्वाचनमा एउटै पदका लागि फरक–फरक राजनीतिक दलबाट चुनावी मैदानमा उत्रिँदा शाहीले बाजी मारेका थिए । बुधबार दुवैजनाले एक–अर्कालाई जीवनसाथीको रुपमा स्वीकार्दै वैवाहिक बन्धनमा बाँधिदै दुवैले ‘जित’ हात पारेका छन् ।

समाजसेवामा दत्तचित्त भएर लागि रहेका दुवैले राजनीतिको माध्यमबाट समाजलाई थप विकासको गतिमा लैजानुपर्छ भन्ने मान्यता राख्दै चुनावी प्रतिस्पर्धामा सौहार्दपूर्ण तरिकाले उत्रिएको मेयर शाहीले बताए । अनलाइनन्यूज७सँगको कुराकानीका क्रममा शाहीले, ‘हामी एकै ठाउँका बासिन्दा हौं, दुवै जना समाजसेवाप्रति दत्तचित्त भएर लागेका थियौं, चुनावको परिवेशमा फरक–फरक पार्टीबाट उम्मेदवारी दिनु नौलो कुरा होइन, दुवैको लक्ष्य समाजको सेवा गर्ने नै हो ।’

विवाहको प्रसंगबारे सोध्दा शाहीले आफूहरुबीच प्रेमविवाह भएको बताउँदै एउटै उद्देश्यका लागि हिँडेका हामीबीच मन मिलेर नै विवाह भएको बताए । उनले आफूहरुबीच बुधबार मात्र विवाह भए पनि पारिवारिकरुपमा भने केही अगाडिदेखि सँगै रहेको समेत खुलाए ।

शाही कर्णाली प्रदेशको दुर्गम जिल्ला दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाबाट गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा मेयरमा निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेका शाही स्थानीय निर्वाचनमा आफ्नै प्रतिस्पर्धी रहेकी मनिषा कार्कीसँग वैवाहिक बन्धनमा बाँधिएका हुन् । नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवारी दिएकी कार्की चुनावी प्रतिस्पर्धामा पराजित बने पनि जीवनको प्रतिस्पर्धामा भने दुवैले जित हात पारेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट जुलोजीमा प्रथम श्रेणीमा स्नातकोत्तर उत्तीर्ण कार्की अनेरास्ववियु केन्द्रीय कमिटी सचिव समेत हुन् ।

प्रतिक्रिया