

छोरीहरूलाई आफ्नो जन्मघर घुमाउँदै राष्ट्रपति भण्डारी (तस्बिरहरु)

भोजपुर – राष्ट्रपति विद्यादेवी भण्डारी भोजपुरस्थित जन्मघर पुगेकी छिन् । भोजपुरको रामप्रसादराई गाउँपालिका ५ आमबोटेमा आफ्नो जन्मघरको राष्ट्रपति भण्डारीले छोरीहरुसहित बुधबार अवलोकन गरेकी हुन्।
राष्ट्रपति भण्डारीले आमबोटेमा नवनिर्मित ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालयको पनि उद्घाटन गरेकी थिइन्। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले शिक्षालयको स्थापनाले स्थानीयलाई प्राविधिक शिक्षा लिन सहज हुने विश्वास व्यक्त गरेकी थिइन्।
‘अहिलेको आवश्यकता प्राविधिक शिक्षा हो। यो शिक्षालयले यहाँको शिक्षाको विकास महत्वपूर्ण भूमिका खेल्नेछ। सीपयुक्त जनशक्ति उत्पादनमा राज्यले ध्यान दिन आवश्यक छ,’ उनले भनिन्।
राष्ट्रपति भण्डारीले पिता रामबहादुर पाण्डे र माता मिथिला पाण्डेको सम्झनामा शिक्षालय स्थापना गर्न पहल गरेकी थिइन्।
दुर्गम ठाउँका स्थानीयमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न रु ११ करोड ३९ लाख ७३ हजार आठ सय लागतमा शिक्षालय निर्माण गरिएको हो।
जन्मघर नजिकै रहेको प्राविधिक शिक्षालयलाई राष्ट्रपतिले ३७ रोपनी र उनका परिवारले १८ रोपनी जग्गा निःशुल्क दिएका थिए।
यसैबीच उनले शिवालय मन्दिरमा पुगेर पूजा–अर्चनासमेत गरेकी थिइन्।
तस्बिरहरूः
तस्बिर: युवराज विष्ट, रासस

