

विराट एक्स्पो भोलिदेखि शुरू हुने, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

विराटनगर – विराटनगरमा मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म सञ्चालन हुने विराट एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको छ । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने भएकी छन् ।
विराटनगरमा आयोजना हुने विराट एक्पो विगतभन्दा फरक र भव्य हुने आयोजक समितिको दाबी छ । एक्स्पोका संयोजक भोलेश्वर दुलालले विगतभन्दा फरक तरिकाले एक्स्पोको आयोजना गर्न लागिएको जानकारी दिए ।
उनले नयाँ प्रविधिको प्रयोग गरेर एक्स्पो आयोजना गर्न लागिएको बताए । प्रविधिँगै एक्स्पोमा रोबटसँग भेटघाट, भिआरबाट पर्यटकीय क्षेत्रको अवलोकन गराउने, माउन्टेन फ्लाइट, कृषि, पर्यटनको छुट्टै पेभेलियन रहेको छ ।
उद्योग, व्यवसाय, कृषि, पर्यटन लगायतका क्षेत्रमा काम गर्न चाहनेहरूका लागि एक्स्पो उपयोगी हुने उनले बताए । विभिन्न क्षेत्रका ४७५ प्रवद्र्धकहरू सहभागी हुने भएकाले नयाँ उद्यम गर्न चाहनेहरूका लागि एक्स्पो अत्यन्तै उपयोगी हुने दुलालले बताएका हुन् । उनले एक्स्पोको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए ।
दुलालले एक्स्पोमा सरसफाई र केही साना कामहरू बाँकी रहे पनि मंसिर २८ गते रातिसम्ममा सबै काम पूरा हुने दाबी गरे । एक्स्पोको अवलोकनका लागि ३ लाख बढी अवलोकनकर्ताहरू आउने आयोजक समितिले जनाएको छ ।
एक्स्पोको अर्को आकर्षण फालिएका प्लाष्टिक तथा प्लाष्टिकजन्य सामग्रीहरूको पुनः प्रयोग गर्नुपर्दछ भन्ने सचेतना अभिवृद्धि गर्ने उद्देश्यले राखिएको छ । त्यसका लागि प्लाष्टिकजन्य प्याकेजिङ सामग्री उत्पादन गर्ने उद्योगको संस्थासँगको सहकार्यमा रिडियुस्, रियुज र रिसाइकल थिममा फेसन शो हुनेछ । मोडलहरूले त्यस्ता सामग्रीबाट फेबिक्रेट गरिएका कपडाहरू लगाउने छन् ।

