

अनुदान–सापटी सुविधा सम्बन्धी कार्यविधि पारित

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले बेरोजगार युवाहरूलाई रोजगारी प्रदान गर्न अनुदान–सापटी सुविधासम्बन्धी कार्यविधि २०७९ पारित गरेको छ ।
नगरवासीमा प्रारम्भिक उद्यमशीलता विकास गराउन सहयोग पुर्याउने उद्देश्यले कार्यविधि पारित गरिएको विधान समितिको संयोजक एवं ११ नम्बर वडाध्यक्ष रोशन गिरीले जानकारी दिए । उनका अनुसार रोजगारी चाहने युवाले नगरपालिकाबाट पशुपन्छी, माछापालन सहितका कृषियन्त्र उपकरण आदिका लागि सापटी अनुदानबापत ५० हजारदेखि २ लाख रुपैयाँसम्म प्राप्त गर्नेछन् ।
नगरपालिकाले प्रारम्भिक उद्यमी बन्न सापटीको रूपमा दिनेछ भने उद्यमशील बनेपछि अनुदानको रूपमा रूपान्तरण गरिने नगरपालिकाले जनाएको छ । उनका अनुसार व्यवासयमा रुचिभएका अत्यन्त विपन्न नागरिकलाई उक्त अवसर दिएर प्रारम्भिक उद्यमशीलता विकास गर्न तथा व्यावसायिक ज्ञान दक्षता वुद्धि गर्ने हेतुले व्यवसाय सिर्जना शुरूवात, सुधार, विस्तार र विकासमा सहयोग पुर्याउन नगरले तालिम समेत प्रदान गर्नेछ ।
कार्यविधिमा उल्लेख गरे अनुसार सापटी अनुदान पाउने व्यक्तिको परिवारको लगत विवरण वार्षिक रूपमा तयार गरी त्यसपछिका २ वर्षसम्मको छनोट प्रक्रिया पनि पहिलो वर्षमा गर्न सकिनेछ ।
सापटी प्रदान गरिएका पशुपन्छीको बीमा गरे ५० प्रतिशतसम्मको साझेदारी गर्न सकिने उल्लेख छ । कार्यविधिमा उल्लेख गरिए अनुसार सापटी रकम ५० हजारभन्दा बढी भएमा निवेदनसाथ जग्गाधनी प्रमाण पुर्जा, व्यक्ति भए एकाघर परिवारका ३ जना व्यक्तिको मञ्जुरीनामा वा २ परिवारको ग्यारेन्टी, समूह भए समूहको ग्यारेन्टी आवश्यक पर्नेछ ।

