पहाडी क्षेत्रमा हुने दुर्घटना न्युनीकरणमा ध्यान दिन गृहमन्त्रीको निर्देशन


काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणले मुलुकका पहाडी क्षेत्रमा पटक-पटक हुने सवारी दुर्घटना न्युनीकरणमा विशेष ध्यान दिन मातहतका निकायलाई निर्देशन दिएका छन्।

जाजरकोटको छेडागाड नगरपालिका-५ खातिजेवामा सोमबार भएको दुर्घटनाको अवस्थाबारे आज जानकारी लिने क्रममा गृहमन्त्री खाणले गृह प्रशासनका साथै मातहतका कार्यालयलाई उक्त निर्देशन दिएको गृहमन्त्रीका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए।

उनले आजै जाजरकोटमा भएको उक्त घटनाबारे जानकारी लिँदै मृतकको शव परिवारसम्म लैजानका लागि सहजीकरण गर्न पनि मातहतका निकायलाई निर्देशन दिए। उनले जाजरकोट जिल्लाको सुरक्षा निकायलाई दुर्घटना न्युनीकरण गर्नेबारेमा ध्यान दिन पनि निर्देशन दिए।

गृह मन्त्रालयका अनुसार जाजरकोटमा सोमबार भएको दुर्घटनामा जिपमा रहेका गाडी चालकसहितका १२ जनाको निधन भएको थियो। स्थानीय प्रशासनका अनुसार नौ जनाको घटनास्थलमै र तीन जनाको उपचारका लागि लैजाँदै गर्दा र अस्पतालमा निधन भएको जनाइएको छ।

दिउँसो करिब ४ बजे कर्णाली प्रदेश ०२-०० १ च ०४२९ नम्बरको बलेरो जीप मध्यपहाडी सडकखण्डअन्तर्गत छेडागाड नगरपालिका वडा नं ४ र ५ को बीचमा पर्ने भिरपाटीमा आफैँ अनियन्त्रित भई दुई सय मिटर तल खसेर दुर्घटना भएको थियो।

प्रतिक्रिया