जाजरकोट दुर्घटना अपडेटः एकैघरका ५ सहित जीपमा सवार सबै १२ जनाको मृत्यु


जाजरकोट — बिहेघरका बिरामी लिएर स्वास्थ्यचौकी जाँदै गरेको जिप जाजरकोटमा दुर्घटना हुँदा एकैघरका पाँचसहित जिपमा रहेका सबै १२ जनाको मृत्यु भएको छ । जाजरकोटको छेडागाड नगरपालिका– ५ भिरपाटीमा सोमबार दिउँसो जिप दुर्घटना भएको हो ।

कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जिप मध्यपहाडी सडकखण्डअन्तर्गत जाजरकोटको छेडागाड नगरपालिका ४ र ५ को बीचमा पर्ने भिरपाटीबाट अनियन्त्रित भई दुई सय मिटर तल खसेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधव श्रेष्ठले बताए । घटनास्थलमै नौ र उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमा तीनजनाको ज्यान गएको हो ।

छेडागाड नगरपालिकाका सूचना अधिकारी देवबहादुर बुढाका अनुसार मृत्यु भएका पाँचजना एकै परिवारका हुन् । छेडागाड– ५ का जयलाल अधिकारी, साहिँलो भाइ दीपक, दीपककी श्रीमती नैसरा, उनीहरूकी दुई वर्षकी छोरी निशा र जयलालका कान्छा भाइ अम्मरबहादुर छन् । यस्तै, छेडागाड– ५ कै देवीसरा बुढा र जयकुमार बुढा तथा छेडागाड– ६ का वीरबहादुर खत्री र रामबहादुर बुढाको मृत्यु भएको छ । दुर्घटनामादैलेखको भगवतीमाई गाउँपालिका– २ घर भएका सवारीचालक मानबहादुर रावत, भगवतीमाई– ३ का सुरेन्द्र केसी र अम्मरबहादुर खड्काको पनि ज्यान गएको छ ।

जिप आइतबार दैलेखबाट जन्ती लिएर छेडागाड गएको थियो । विवाह घरमै रहेको जिप दिउँसो एक्कासि बिरामी परेका एकजना लिएर छेडागाड– ६ स्थित स्वास्थ्यचौकीतर्फ गएको थियो । केही तल पुगेपछि बिहे भतेर खाएर फर्किएका नौजना सोही जिपमा चढेका थिए । त्यहाँबाट अघि बढेको जिप करिब तीन सय मिटर अघि मध्यपहाडी लोकमार्गमा पुगेपछि एक्कासि सडकबाट तल खसेको थियो ।

प्रतिक्रिया