सम्पत्ती शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखा स्थापना हुँदै


काठमाडाैं – नेपाल राष्ट्र बैंकले सम्पत्ती शुद्धीकरण निवारण सुपरीवेक्षण प्रभावकारी बनाउन महाशाखा स्थापना गर्ने भएको छ। बैंकले माघ १ गते देखि लागू हुने गरी सम्पत्ती शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तिय लगानीसम्बन्धी निरीक्षण तथा सुपरीवेक्षणको प्रभावकारीता बढाउन छुट्टै विशिष्टिकृत सुपरीवेक्षण युनिट स्थापना गर्न लागेको हो।

राष्ट्र बैंकले सम्पत्ती शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तिय लगानीसम्बन्धी निरीक्षण तथा सुपरीवेक्षण विभिन्न वित्तिय इकाईहरुमार्फत गर्दै आएको थियो। सम्पत्ती शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तिय लगानी निवारण गर्ने नेपालको अन्तराष्ट्रिय प्रतिवद्धतालाई पूरा गर्नका लागि राष्ट्र बैंकले छुट्टै युनिट स्थापना गर्न लागेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए।

उनले सम्पत्ती शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखाले प्रभावकारी रुपमा आतङ्कवादी क्रियाकलापमा वित्तिय लगानीका सम्बन्धमा सुपरीवेक्षण गर्ने बताए। प्रवक्ता भट्टले नेपाल राष्ट्र बैंक सम्पत्ती शुद्धीकरणका कारण मुलुकको प्रतिष्ठा र व्यवसायीक वा बैंकिङ गतिविधि अफ्ठ्यारो नपरोस् भन्ने विषयमा सचेत र सजग रहेको बताए।

विभिन्न विभागहरुमा छरिएर रहेको सम्पत्ती शुद्धीकरण सुपरीवेक्षण निवारण गर्ने कार्यलाई सम्पत्ती शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखाबाट विशिष्टिकृत रुपमा काम गर्ने गरी गठन गरिएको उनको भनाइ छ।

प्रतिक्रिया