
जापान र फ्रन्समा कफी निर्यात हुन थालेपछि गुल्मीका किसान उत्साहित
काठमाडौं – गुल्मी जिल्ला कफी खेतीका लागि प्रख्यात छ । यहाँ उत्पादन भएको कफी जापान र फ्रान्समा जाने गरेको छ । जापान र फ्रन्समा कफिको माग बढ्न थालेपछि यहाँका किसान कफीखेतीमा आकर्षित हुन थालेका छन् । यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी संघमार्फत् निर्यात हुँदै आएको छ ।
संघका सचिव युवराज आचार्यका अनुसार जापान र फ्रान्समा मात्रै वार्षिक पाँच मेट्रिक टन कफी निर्यात हुँदै आएको छ । किसान, समूह र सहकारीबाट खरिद गरिएको कफी प्रशोधन गरी संघले निर्यात गर्दै आएको छ । जसबाट संघले वार्षिक ६० लाख आम्दानी गर्दै आएको सचिव आचार्यको भनाइ छ ।
कफी विकास केन्द्र गुल्मीका प्रमुख जीवन आचार्यले कफीको बिउ स्रोत केन्द्रका रुपमा काम गरिरहेको बताए । कुल ६ हेक्टर क्षेत्रफलमा बिउका लागि कफी खेती गरिएको छ । अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुन थालेपछि कफीखेतीमा किसानको आकर्षण बढेको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिका–८ का २५ वर्षीय मनोज पाण्डे र २४ वर्षे सरोज बेलबासे व्यावसायिक कफीखेतीमा छन् । आँपचौरको पिपलारुखमा दुई सय रोपनीमा डेढ वर्षदेखि कफीखेती गरिरहेका उनीहरुले बीस हजार कफीका बिरुवा रोपेका छन् ।
मनोजका अनुसार गतवर्ष कफी खेतिबाट सात लाख आम्दानी भएको थियो । कफीखेतीमा उनीहरुले हालसम्म ५१ लाख लगानी गरिसकेका छन् । कफीखेतीसँगै कफी प्रशोधन, प्याकेजिङ र बजारीकरणसमेत आफैँ गर्दै र्आएका छन् । सिजनमा ३५ जना र अन्य समयमा दैनिक पाँच जनालाई उनीहरुले रोजगारीसमेत दिएका छन् । गुल्मीको आँपचौर कफीको उद्गमस्थल हो । मुसिकोट नगरपालिका ५ आँपचौरबाटै नेपालमा कफीको बिस्तार भएको मानिन्छ ।



कागजपत्र |
