बजेट काटिएको विरोधमा सडकबाट सेवा दिँदै वडाध्यक्ष


काठमाडौँ – कञ्चनपुरको भीमदत्त नगरपालिका-वडा नम्बर १८ का वडाध्यक्ष रवीन्द्रप्रसाद देवकोटाले सडकबाट सेवा सुरु गरेका छन् । नगरपालिकाले सडक कालोपत्रे गर्न बजेट नदिएको भन्दै त्यसको विरोधमा वडाध्यक्ष धर्ना देवकोटामा बसेका हुन्।

उनी कहिले पत्थरपुर त कहिले भगतपुरका बस्तीको सडकमा बसेर सेवा प्रवाह गरिरहेका छन्। नगरपालिकालाई औपचारिक रूपमा बारम्बार बजेट माग गर्दा पनि कुनै वास्ता नगरिएकाले वडाको काम सडकबाट सम्पादन गर्नुपर्ने बाध्यता सिर्जना भएको उनले बताए। विगतमा सडकका लागि एक करोड ४९ लाख बजेट आउने गरेको थियो। यसपटक नगरपालिकाले एक करोड २७ लाख मात्रै दिएको छ।

वडा कार्यालयबाट प्रवाह हुने सेवामा कुनै असर नपर्ने गरेर सडकमा धर्ना बसेर सडकबाटै सेवा दिइरहेको देवकोटा बताउँछन्।

वडा कार्यालयको फाइल, रजिस्ट्रर बोकेर कार्यालय खुल्ने समयमा अध्यक्ष देवकोटा सडकमा बस्छन्। कार्यालय समयसम्म सडकबाटै वडाको सेवा सम्पादन गर्ने उनको अचेल दैनिकी नै बनेको छ। पत्थरपुर, भगतपुर, गोबरियालगायत क्षेत्रको एक किलोमिटर सडक कालोपत्रेको काम अन्तिम चरणमा छ। सोही सडकका लागि बजेटको माग गर्दै धर्ना बसेका अध्यक्ष देवकोटाले माग सम्बोधन नभए आमरण अनसन बस्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया