चीलसँग ठोकिएरको जहाज मर्मत, उडान सुरु


हुम्ला – आकाशमा चीलसँग ठोकिएर क्षति भई सिमकोट विमानस्थलमा ग्राउण्डेड भएको तारा एयरको ट्वीन्टर विमानको मर्मतपछि आज उडान भरेको छ । काठमाडौंबाट आएको प्राविधिक टोलीले तीन दिन लगाएर जहाजको मर्मत गरेपछि जहाजले उडान भरेको हो ।

तारा एयर सिमकोटका सहायक इन्चार्ज नुर्बु लामाले क्षति भएको जहाजको मर्मत कार्य पूरा भएपछि सिमकोटबाट नेपालगञ्जका लागि उडान भर्न सफल भएको बताए । गत बिहीबार प्राविधिक टोली आएर जहाजको मर्मत गर्न तीन दिन लगाएको जानकारी दिए ।

हाललाई जहाजको मर्मत गरेर नेपालगञ्जसम्म लगिएको र थप मर्मत नेपालगञ्जमा हुने उनले बताए । क्षति भएर मर्मत गरिएको जहाजमा चालक दलका सदस्य मात्र थिए । मर्मत टोलीले पहिलो दिन जहाजको जोनभित्र रहेको दश केजीभन्दा बढी तौल भएको चीललाई निकालेको थियो ।

गत बुधबार सर्केगार्ड र अदानचुली गाउँपालिकाको सिमानामा पर्ने मनेलेक क्षेत्रमा आकाशमा उडिरहेको तारा एयरको ट्विनअटर विमान चीलसँग ठोक्किँदा जहाजको अग्र भागमा क्षति भएको थियो ।

प्रतिक्रिया