अर्जेन्टिना सेमिफाइनलमा, फाइनल प्रवेशका लागि क्रोएशियासँगको भेट पक्का


काठमाडौं — अर्जेन्टिनी गोलकिपर एमिलियानो मार्टिनेजले नायक बन्दै दुई पेनाल्टी रोकेपछि नेदरल्याण्ड्सलाई पेनाल्टी शूटआउटमा ४–३ ले पराजित गर्दै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

लुसेल आइकोनिक स्टेडियममा भएको नाटिकय र तनावपूर्ण दोस्रो क्वाटरफाइनलमा मार्टिनज नायक बन्दा अर्जेन्टिना ८ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शूटआउटमा पुगेको थियो ।

जहाँ अर्जेन्टिनाका लागि कप्तान लिओनल मेसी, लिएनड्रो परेडेस, गोन्जालो मोनिटेल र लाउटारो मार्टिनेजले गोल गरे । एन्जो फर्नान्डेसको प्रहार पोष्ट बाहिर गएको थियो ।

नेदरल्याण्ड्सका लागि टिउन कुपमाइनर्स, वाउट वेघोस्ट लुक डे जोङले गोल गरे । अर्जेन्टिनाको जितमा नायक बनेका मार्टिनजले डच कप्तान भर्जिल भान डाइक र स्टेभेन बर्गुइसको प्रहार बचाए ।

खेलको ३५औं मिनेटमा मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । कप्तान लिओनल मेसीले उपलब्ध गराएको उत्कृष्ट पासमा मोलिनाले गोल गरेका हुन् । पहिलो हाफमा अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा पनि गोल थप्यो । यस पटक मेसीले पेनाल्टीमा गोल गरे ।

दुई गोलले पछि परेको नेदरल्याण्ड्सले उत्कृष्ट पुनरागमन गर्दै खेल बराबरी गर्‍यो । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेको वाउट वेघोस्टले ८३औं मिनेटमा गोल गर्दै डच टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

९० मिनेटको खेलपछि १० मिनेटको इन्जुरी टाइम थप गरिएको थियो । जसको अन्तिम मिनेटमा नेदरल्याण्ड्सले बक्स बाहिर फ्रिकिक पायो । त्यसमा टम कुपमाइनरसको उत्कृष्ट पासमा वेघोस्टले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

निर्धारित समयमको खेल २–२ को बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । तर त्यसमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी शूटआउटमा पुगेको थियो । थप गरिएको समयमको अन्तिम मिनेटमा अर्जेन्टिनाका एन्जो फर्नान्डेजको प्रहार पोष्टमा लागेको थियो ।

अर्जेन्टिनाले अब पहिलो सेमिफाइनलमा क्रोएसिया आगामी मंगलबार क्रोएसियासँग खेल्नेछ । क्रोएसियाले पहिलो क्वाटरफाइनलमा उपाधि दाबेदार ब्राजिललाई पेनाल्टीशूटआउटमा ४–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

प्रतिक्रिया