

को हुन् त यसपटकका सबैभन्दा जेठा र कान्छी सांसद !

काठमाडौं – दोलखाको तामाकोशी गाउँपालिका जामुनेमा जन्मिएकी २०५२ असार ३ मा जन्मिएकी सोविता गौतम यसपटकको प्रतिनिधिसभा प्रत्यक्षतर्फ सबैभन्दा कान्छी सांसदको रुपमा संसद प्रवेश गर्ने भएकी छिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्र्रीय सदस्यसमेत रहेकी गौतमले काठमाडौं क्षेत्र नं. २ बाट यस निर्वाचनमा १५२२९ मतका साथ जित हात पारेकी थिइन् । उनले मणिराम फुयाल, ओनसरी घर्तीलगायतका उम्मेदवारलाई पराजित गरेकी थिइन् ।
त्यस्तै यसपटकको संसदमा सबैभन्दा धेरै उमेरमा संसद पस्नेमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं बाग्लुङ क्षेत्र नं. १ का चित्रबहादुर केसी हुन् । उनी ८२ वर्षको उमेरमा निर्वाचित बनेका हुन् । गठबन्धन दलका साझा उम्मेदवार बनेका केसी २१ हजार ४६४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका सूर्य पाठकले १८ हजार ८४५ मत ल्याए ।
तर, सरकारी रेकर्डका अनुसार भने नेकपा माओवादी केन्द्रबाट सर्लाही क्षेत्रनं. २ बाट निर्वाचित महेन्द्र राय यादव रहेको जनाइएको छ । तर सरकारी तथ्यांकमा उनको जन्ममिती १९९४ वैशाख २४ गते लेखिए पनि उमेर वास्तविक उमेर भने ६८ रहेको जनाएको छ ।

