चीलसँग ठोकिएर क्षति भएको तारा एयरको जहाज मर्मत गरिँदै


सिमकोट – आकाशमा चीलसँग ठोकिएर क्षति पुगी सिमकोट विमानस्थलमा ग्राउन्डेड भएको तारा एयरको ट्वीन्टर विमान मर्मत सुरु गरिएको छ। काठमाडौंबाट प्राविधिकको टोली सिमकोट पुगेलगत्तै क्षति पुगेको जहाजको भागको मर्मत कार्य थालिएको हो।

तारा एयरका एरोनोटिकल इञ्जिनियर प्राविधिक टोली प्रमुख जनक तामाङले प्राविधिकको टोली सिमकोट विमानस्थलमा पुगेलगत्तै क्षति पुगेको जहाज मर्मत कार्य सुरु गरेको बताए। मर्मतका क्रममा जहाजको नोजभित्र रहेको १० केजीभन्दा बढी तौलको चीललाई निकालिएको थियो। प्राविधिकको टोली बिहीबार बिहान हुम्ला आइपुगेको हो।

क्षति पुगेको भागका लागि आवश्यक पर्ने सामान लिएर आएको प्राविधिक टोलीले मर्मत गरिरहेको छ। क्षति भएको भाग नोजमा चील ठोकिँदा जहाजको नोजभित्र चील पसेको थियो। चील नोजभित्र पसे पनि चालक दलका सदस्यले जहाज सिमकोट विमानस्थलमा सुरक्षित अवतरण गरेका थिए। जहाजमा चालक दलका सदस्य थिए। मानवीय क्षति भने भएको थिएन। तारा एयरको उक्त जहाजको त्यो तेस्रो उडान थियो।

प्रतिक्रिया