सरकारले मानव अधिकार र सुशासनको क्षेत्रमा राम्रो काम गर्ने उपराष्ट्रपतिको विश्वास


काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले मानव अधिकारसँग सम्बन्धित कानुनी व्यवस्थाको पूर्ण रूपमा लागू गर्न ध्यानाकर्षण गराए। बिहीबार काठमाडौंमा आयोजित १४ औँ राष्ट्रिय मानव अधिकार महाभेलालाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले मानव अधिकारसँग सम्बन्धित कानुनी व्यवस्थालाई पूर्ण रूपमा लागू गराउन सबैको ध्यानाकर्षण गराएका हुन् ।

उनले मानव अधिकार उल्लङ्घनका घटना अझै पनि नरोकिएको बताए। उनले सबै जनताले मानव अधिकार पाएको महसुस गर्न नसकेको बताए । उपराष्ट्रपति पुनले मानव अधिकार आवाजविहीन, शोषित उत्पीडित र राज्यलेपछि पारेका जाति र वर्गको लागि आवश्यक रहेको बताए । उनले मानव अधिकारको पूर्ण पालना भएको ठाउँमा विभेद, उत्पीडन, गरिबी, अन्याय र अत्याचार नहुने बताए।

उपराष्ट्रपति पुनले आगामी दिनमा सङ्घ र प्रदेशमा बन्ने सरकारले मानव अधिकार र सुशासनको क्षेत्रमा राम्रो काम गर्ने विश्वास पनि व्यक्त गरे। उनले भने, ‘निर्वाचनको पूर्ण परिणामसँगै सङ्घ र सात प्रदेशमा सरकार बन्नेछ। ती सरकारले देशको विकास र समृद्धिको लागि र मानव अधिकारका क्षेत्रमा, सुशासनका क्षेत्रमा राम्रो काम गर्ने छन् भन्नेकुरा पनि म विश्वास लिएको छु।

अर्थात् सुशासनका क्षेत्रमा पक्कै पनि आजका दिनभन्दा आगामी दिनहरू अझै राम्रा र अझै प्रगतिशील र मानव अधिकारका क्षेत्रमा पक्कै पनि धेरै प्रगति हुनेछ भन्ने हामी सबैले विश्वास गर्दछौँ।’ उनले विकास र समृद्धिका लागि पनि दुवै तहको सरकारले काम गर्नुपर्ने बताए।

प्रतिक्रिया