आन्दोलन कार्यक्रमको समीक्षा र घोषित कार्यक्रम प्रभावकारी बनाउनेबारे पेरिसडाँडामा छलफल


काठमाडौं – पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाको केन्द्रीय संघर्ष समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको नेकपा प्रचण्ड–नेपाल पक्षको बैठकमा थप कार्यक्रमको बारेमा छलफल गरेको छ।

दुवै अध्यक्षको उपस्थितिमा बसेको बैठकले अहिलेसम्मका आन्दोलन कार्यक्रमको समीक्षा र घोषित कार्यक्रम प्रभावकारी बनाउनेबारे छलफल गरेको केन्द्रीय सदस्य बिष्णु रिजालले जानकारी दिए । माघ २८ गते काठमाडौँमा हुने शक्ति प्रदर्शनलाई व्यवस्थित, प्रभावकारी र विशाल बनाउन बैठकमा छलफल भइरहेको छ । नारायणकाजी श्रेष्ठ नेतृत्वको केन्द्रीय संघर्ष समितिको बैठकमा अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपाल पनि सहभागि छन् ।

यसअघि माघ ९ गते काठमाडौँमा विशाल शक्ति प्रदर्शन गरेको दाहाल नेपाल पक्षले त्यसको दुई हप्तामै फेरि काठमाडौँमै शक्ति प्रदर्शन गर्न लागेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

शक्ति प्रदर्शनमा कम्तीमा दुई लाख मानिस उतार्ने तयारी छ । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भन्दै सडक संघर्षका कार्यक्रम गरिरहेको दाहाल नेपाल पक्षले प्रतिनिधि सभा पुनःस्थापना नभएसम्म आन्दोलन जारी राख्‍ने बताएको छ ।

आजै पार्टीले बुटवलमा जनप्रदर्शन गर्दैछ। सभालाई सम्बोधन गर्न प्रचण्ड र माधव नेपाल बुटवल जाँदैछन्।

प्रतिक्रिया