

चीनमा कोभिड १९ को ‘ट्रिएज प्रोटोकल’ जारी

बेइजिङ – चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बुधबार कोभिड १९ को ट्रिएज प्रोटोकल जारी गरेको छ। जोखिममा रहेका तथा गम्भीर खालका बिरामीलाई समयमै नियमित स्वास्थ्य सेवा दिनका लागि उक्त प्रोटोकल जारी गरिएको हो।
ट्रिएज गम्भीर खालका बिरामीलाई गरिने उपचार विधि हो । लक्षणविहीन र लक्षण देखिएका बिरामीले घरमै सुरक्षित भएर बस्ने र आवश्यक परामर्श लिन सक्ने छन् भने जेष्ठ नागरिकका लागि आवश्यकता अनुसार स्वास्थ्यकर्मीले घरघरमै गएर स्वास्थ्य सेवा दिने छन्।
प्रोटोकलमा कोभिड १९ का बिरामीलाई तीन भागमा वर्गीकरण गरिएको छ। सोही अनुसार उपचारको व्यवस्था गरिएको छ। कोभिड १९ का गम्भीर खालका बिरामीलाई तोकिएका अस्पतालमा नै उपचार गरिने छ। निमोनिया लगायतका जटिल समस्या भएकालाई उच्च-स्तरीय तोकिएका अस्पतालहरूमा जानुपर्ने व्यवस्था गरिएको छ।
पहिलेदेखि नै अन्य ठूला रोग लागेर कोभिड संक्रमणले जटिल बनाएकालाई सोही अनुसार तोकिएका अस्पतालमा लैजान पर्नेछ। सूचना अनुसार कोभिड १९ को समुदायस्तरमा सर्वे गर्ने, एन्टिजेन परीक्षण गर्ने र परम्परागत औषधि स्टक राख्ने भनिएको छ।

