

राष्ट्रपतिसमक्ष राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदन बुझाएको छ। राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।
नेपालको संविधानको धारा २९४ बमोजिम आयोगले आफूले गरेको कामकारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार आयोगले वार्षिक प्रतिवेदन बुझाएको हो। प्रतिवेदन बुझ्ने क्रममा राष्ट्रपति भण्डारीले मानव अधिकार र लोकतन्त्रको अवलम्बनमा नेपाल उच्चस्थानमा रहेको बताइन्।
प्रतिवेदनको अवधिमा आयोगमा मानव अधिकारको उल्लङघनबारे १०१ उजुरी दर्ता भएको छ। पुराना र नयाँ गरी ५०२ उजुरीमाथि अनुसन्धान र मानव अधिकारका विषयमा २२१ पटक अनुमगन भएको छ। आयोगको सिफारिसको कार्यान्वयन अवस्था हाल १५.३ प्रतिशत पूर्ण कार्यान्वयन, ३९.२ आंशिक र ४५.५ प्रतिशत सिफारिस कार्यान्वयन हुन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ।
आयोगबाट अनुसन्धान सम्पन्न भएका जम्मा ४१४ उजुरीमाथि निर्णय भएको र जसमा ६ वटा नीतिगत सिफारिस रहेका छन्। प्रतिवेदनमा आयोगमा परेका उजुरीहरु, उजुरीउपर भएका छानवन तथा अनुसन्धान विवरण, नेपाल सरकारलाई गरिएका सिफारिसलगायत मानव अधिकार संरक्षण र संवर्द्धनमा आयोगबाट वर्षभरि भएका कार्याहरुको उल्लेख गरिएको छ।

