


महाअभियोग प्रस्तावबारे आगामी संसदमा छलफल हुन्छः प्रवक्ता कार्की

काठमाडौं – नेपाल सरकार मन्त्रीपरिषद्का प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावबारे आगामी संसदमा छलफल हुने बताएका छन् ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधवार मन्त्रालयमा आयोनित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका कार्कीले आगामी प्रतिनिधि सभामा छलफल हुने विषय जिवितै रहेको बताएका हुन् ।
बुधवार नै संसद् सचिवालयले चोलेन्द्रको महाभियोग निष्क्रिय भएको पत्र पठाए पनि प्रवक्ता कार्कीले संसद् सचिवालयभन्दा फरक धारणा दिएका छन् ।
‘महाभियोग प्रस्तावमा छलफल भएको प्रतिवेदन अब गठन हुने प्रतिनिधि सभामा छलफल हुने विषय जिवितै छ । महाभियोग सार्वभौम संसदको सम्पत्ति हो । यसको छलफल आउने प्रतिनिधि सभामा भएर एउटा निर्णयमा पुग्छ’, बुधवार दिउँसो मन्त्री कार्कीले भने ।
यही २७ गतेसम्म कार्यकाल रहेका चोलेन्द्र संसद् सचिवालयको पत्र पाएपछि सर्वोच्च फर्किने तयारीमा छन् ।

