
धाँधली गरेर चुनाव जिताइएको भन्दै पौडेल र यादवविरूद्ध सर्वोच्चमा मुद्दा
काठमडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई रूपन्देही क्षेत्र नम्बर २ मा जिताइएको दाबीसहित सर्वोच्चमा मुद्दा दायर भएको छ।
पौडेलका निकटतम प्रतिद्वन्द्वी रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले मत गणना स्थलमा आफूलाई जानसमेत नदिई धाँधली गरेर पौडेललाई जिताइएको दाबी गर्दै गणेशले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् ।
एमालेका पौडेल २७ हजार १ सय ६५ मत ल्याएर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए भने प्रतिद्वन्द्वी गणेश पौडेलले २५ हजार ७ सय ९५ मत ल्याएका थिए।
त्यस्तै, धनुषा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादव विजयी भएका थिए। यादवले २० हजार १ सय १२ मत ल्याएका थिए। विजयी यादव विरुद्ध पनि उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमाशंकर अरगरियाले धाँधली गरेर यादवलाई जिताएको दाबीसहित सर्वोच्चमा मुद्दा दिएका छन्।
अरगरियाले १९ हजार ९ सय ५५ मत ल्याएका थिए। दुवै रिट मंगलबार सर्वोच्चमा दर्ता भएका थिए। यी मुद्दा संवैधानिक इजलासले हेर्ने सर्वोच्च स्रोतले जानकारी दिएको छ।



कागजपत्र |
