इस्वी संवत् लागू गर्ने प्रतिवेदन बुझाएकामा आपत्ति


काठमाडौं – नेपाल संवतको व्यावहारिक अध्ययन गर्न केही वर्षअघि सरकारले गठन गरेको कार्यदलले नेपालमा इस्वी संवत् लागू गर्नुपर्ने प्रतिवेदन सरकारलाई बुझाएकामा आपत्ति जनाएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठान संस्कृति विभागद्वारा नेपाल संवत् न्हूँद राष्ट्रिय समारोह समितिसँगको सहकार्यमा आयोजित ‘नेपाल संवत् न्हूँद’ विषयक विद्वत् गोष्ठीका वक्ताले नेपालका मौलिक संवतलाई छोडेर विदेशी संवत् चलाउन प्रतिवेदन बुझाएर झारा टारेकाप्रति आपत्ति जनाएका हुन्।

प्रतिष्ठानका निमित्त कुलपति डा जगमान गुरुङले जनताले देशका नाममा प्रवर्द्धन गरेको नेपाल संवत् राष्ट्रिय गौरवको विषय भएको बताए। नेपाल संवत् र नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रकाशन गर्ने पात्रो (पञ्चाङ्ग) को गणित नमिलेकाले त्यसलाई मिलाउनुपर्नेमा उनले जोड दिए।

सांस्कृतिक गतिविधिमा अघि रहेको नेवार समुदायका अगुवालाई नेवारी संस्कृतिका विषयमा गोष्ठी गरौँ भन्दा सुनुवाई नभएको गुनासो निमित्त कुलपति गुरुङको थियो। राजधानी उपत्यकाका तीन सहरको सांस्कृतिक महत्व रहेको उल्लेख गर्दै उनले त्यसको संरक्षणमा यहीँको समुदाय लाग्नुपर्नेमा जोड दिए।

लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा त्रिरत्न मानन्धरले कार्तिक शुक्ल प्रतिपदामा नेपाल संवत् मनाएर वर्षभर चुप लागेर बस्ने परम्परालाई तोड्दै यस विषयमा बहस चल्ने गरी कार्यक्रम आयोजना गरिएकामा उनले खुसी व्यक्त गरे।

प्रतिक्रिया