बर्दिबासमा एम्बुलेन्स दुर्घटना, ६ जना घाइते


बर्दिबास – बिरामी बोकेर अस्पतालतर्फ जाँदैगरेको एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते जति सबै महिला तथा नाबालक रहेका छन् ।

दुर्घटनामा घाइते भएकी रामगोपालपुर-९ का २४ वर्षीया विनीतादेवी यादवको अवस्था गम्भीर छ । शरीरको विभिन्न अङ्गमा चोट लागेको उनलाई राति नै जनकपुरस्थित न्युरो अस्पतालमा भर्ना गरिएको छ । प्रहरीका अनुसार विनीताका दुई महिनाकी छोरी र ३० वर्षीया जेठानीदिदी रानीदेवी यादव घाइते भएका छन् ।

दुर्घटनामा परी सोही ठाउँकी २५ वर्षीया प्रियंका देवी तथा १८ महिनाको छोरो रीतिक र ६० बर्षीया सासुआमा श्रीमती देवीसमेत घाइते भएकी छन् । उनीहरूको अवस्था सामान्य रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरस्थित जानकी एकेडेमी हस्पिटलबाट मान्छे बोकेर पर्सातर्फ जाँदैगरेको नाअ प ९८ नम्बरको अनटेस्ट एम्बुलेन्स आइतबार राति साढे १० बजे महोत्तरीको मनरासिसवा-३ भोलही नजिक दुर्घटना भएको थियो ।

राति नै घटनास्थल पुगेका प्रहरी र स्थानीयले बिरामीलाई उद्धार गरी अस्पताल लगेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सन्तोष पोखरेलका अनुसार एम्बुलेन्सलाई इटहरवाकट्टीस्थित इलाका प्रहरीको नियन्त्रणमा राखिएको छ । दुर्घटनालगत्तै चालक फरार छन् । दुर्घटनाको कारण स्पष्ट हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया