


‘दिपक मनांगे’ एकीकृत समाजवादी प्रवेश

काठमाडौं – मनाङ प्रदेश सभा २ बाट प्रदेश सभा सदस्य विजयी बनेका राजीव गुरुङ (दिपक मनांगे) नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनले स्वतन्त्र उम्मेदवारका रुपमा मनाङ प्रदेश सभा-२ बाट निर्विरोध निर्वाचित भएका थिए ।
गुरुङले आज एक वक्तव्य जारी गर्दै आफू एकीकृत समाजवादीमा प्रवेश गरेको उल्लेख गरेका छन् । उनले परिवर्तित परिस्थितिमा एक्लै रहनुभन्दा राजनीतिक पार्टीको संगठनमा आवद्ध भई त्यसका नीति, विचार र सिद्धान्तबाट निर्देशित हुँदै अघि बढ्नु उपयुक्त हुने ठहर गर्दै पार्टी प्रवेश गर्ने निष्कर्षमा पुगेको बताएका छन् ।
उनले भनेका छन्, ‘मेरो उद्धेश्यसँग मेल खाने नीति, सिद्धान्त र विचार नेपालमा रहेका राजनीतिक दलहरूमध्ये नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीमा पाएँ । एकीकृत समाजवादीका नेता कार्यकर्ताको स्वच्छ छवी, मुलुकका लागि केही गरौँ भन्ने धारणा र दृष्टिकोणबाट प्रभावित भई यो पार्टीमा आजैका मितिदेखि आवद्ध हुँदैछु । अब यही पार्टीको मार्ग निर्देशन अनुरुप जनसेवामा सक्रिय रहने सबैमा हार्दिक अनुरोध गर्दछु ।’
गुरुङमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका थिए । उनले मनाङ प्रदेश सभा २ बाट विजयी गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद पनि दिएका छन्।

