एकैसाथ जुमल्याहा दिदीबहिनी विवाह गर्ने युवकविरुद्ध उजुरी


मुम्बई – भारतको महाराष्ट्रमा एक युवकले जुमल्याहा दिदीबहिनीसँग विवाह गरेका छन्। सोलापुरको अकलुज क्षेत्रमा अतुल नामका युवकले जुमल्याहा दिदीबहिनी पिंकी र रिंकीसँग विवाह गरेका हुन्।

स्थानीय प्रहरी अरुण सुगावकरका अनुसार एउटै अनुहार भएपछि दिदीबहिनीले पहिल्यै एउटै घरमा एकै युवकसँग विवाह गर्ने निर्णय लिएका थिए। ‘जुमल्याहा दिदीबहिनीको निर्णयलाई परिवारले पनि सहमति दिएका थिए।’

उनीहरुको विवाह जामापुर रोडस्थित गलान्डे होटलमा भएको थियो। अतुल पेसाले ट्राभल एजेन्सी चलाउँछन् भने पिंकी र रिंकी आइटी इन्जिनियर हुन्। होटल सञ्चालक नाना गलान्डेका अनुसार उनीहरुको विवाह २ डिसेम्बरमा सम्पन्न भएको थियो।

उनले यो कुरा सुनेर आफू पनि चकित परेको र यसबारे जुमल्याहा दिदीबहिनीसँग कुरासमेत गरेको बताए। ‘दिदी बहिनी पढेलेखेका समझदार रहेछन्। दुवैको निर्णयअनुसार नै विवाह हुने तयारी रहेछ। यसमा मैले दख्खल दिने कुरा पनि भएन। मैले उनीहरुको आधार कार्ड र प्यान कार्डको विवरणसमेत लिएर राखेको छु,’ उनले बीबीसीसँग भनेका छन्।

युवकविरुद्ध उजुरी
जुमल्याहा दिदीबहिनीको एकै युवकसँग विवाह भएपछि उनीहरुको भिडियो भाइरल बनेको थियो। युवकविरुद्ध अकलुजस्थित प्रहरी थानामा उजुरीसमेत परेको छ। भारतीय दण्ड संहिताको धारा ४९४ अनुसार भारतमा बहुविवाह गर्न पाइँदैन।

राज्य महिला आयोगकी अध्यक्ष रुपाली चाकणकरले विवाहविरुद्ध कानुनी कारबाही गर्न निर्देशन दिएकी छन्। उनले यसविरुद्ध प्रहरीले छानबिन गरी कानुनी प्रक्रिया अगाडि बढाउनुपर्ने बताइन्।

प्रतिक्रिया