संस्कृत विश्वविद्यालयमा तालावन्दी, उपकुलपति लामिछानेको आवासगृहमा तोडफोड


घोराही – दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय लगायतका विभिन्न शाखामा तालावन्दीका साथै विद्यार्थीले उपकुलपति यादवप्रसाद लामिछानेको आवासगृहमा तोडफोड गरेका छन् ।

केन्द्रीय आयुर्वेद विद्यापीठमा आयुर्वेद चिकित्सामा स्नातक तह (विएएमएस) अध्ययनरत विद्यार्थीले आइतबार तोडफोड गरेका हुन् । तोडफोडबाट आवासगृहको सिसाको झ्याल, ढोका फुटेको छ । गाडीमा पनि क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

विएएमएसका लागि ५१ जना प्राध्यापक आवश्यक पर्ने भए पनि अहिले पाँच सात जना मात्रै प्राध्यापक रहेकाले पढाई प्रभावित भएको भन्दै विद्यार्थी आन्दोलित भएका छन् । सीमित प्राध्यापक हुँदा नियमित पढाइ नभएको र एउटा प्राध्यापकले आफ्नो विषयभन्दा बाहिरको विषय पढाउँदा गुण्स्तर कमजोर रहेको भन्दै विद्यार्थी आन्दोलित भएको विद्यार्थी अभयप्रताप चौहानले जानकारी दिए ।

विद्यार्थीले आइतबार विश्वविद्यालयको केन्द्रीय कार्यालय, केन्द्रीय आयुर्वेद विद्यापीठ, अध्ययन संस्थान, परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी गरेका छन् । पढ्नलाई टाढा टाढाबाट आएको भए पनि विद्यार्थीको पढाइलाई बेवास्ता हुनेगरेको विद्यार्थीको गुनासो छ ।

विद्यार्थीले प्रयोगात्मकका लागि ओपीडीको माग गरेका छन् । अहिलेसम्म ओपीडी नहुँदा विद्यार्थीहरु कहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुग्नुपर्ने त कहिल्यै प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरी जानुपर्ने बाध्यता रहेको बताएका छन् । डाक्टर पढाउने क्याम्पसको ओपीडी नहुनु दुःखद कुरा भएको भन्दै समस्या तत्काल समाधान गर्न विद्यार्थीले माग गरेका छन् ।

उपकुलपति लामिछानेले समस्या समाधान गर्न प्रयत्न भइरहेको बताए । विद्यार्थीले पढ्न पाउनुपर्ने माग राखेर गरेको आन्दोलन सकारात्मक भए पनि ढुंगा, मुडा गर्ने गर्नु निन्दनीय भएको उनको भनाइ छ । ‘विद्यार्थीले शिक्षकको व्यवस्था गर्नुपर्ने राखेको माग जायज छ’ उपकुलपति लामिछानेले भने, ‘अराजक तरिकाले आक्रमण गर्ने, ढुंगामुढा गर्ने काम निन्दनीय हो ।’

२०७८ चैत १६ गते शिक्षकका लागि विज्ञापन खोलेको भए पनि तत्काल निर्वाचन आचरसंहिता लागेका कारण प्रक्रिया अघि बढ्न नसकेको उनले बताए। आयुर्वेदका लागि १४ जना शिक्षकको माग गरिएको उनले बताए ।

प्रतिक्रिया