किन हुन्छ बास्कोटामाथि पटक–पटक ‘आक्रमण’ ?


भक्तपुर – नेकपा एमालेका नेता एवं काभ्रे क्षेत्र नं. २ का नवनिर्वाचित प्रतिनिधिसभाका सांसद गोकुल बास्कोटाको घर दोस्रो पटक निशानामा परेको छ ।

यसअघि २०७६ सालमा निर्माणाधीन अवस्थामै रहेका बेला बम विस्फोट भएको उनको घरमा आज अर्थात् आइतबार बिहान शंकास्पद बस्तु भेटिएको छ ।

सञ्चारमन्त्रीमा रहँदा सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड बार्गेनिङ गरेको भन्दै अडियो सार्वजनिक भएपछि विवादमा परेका बाँस्कोटा पटक–पटक भौतिक आक्रमणको टार्गेटमा परेका छन् । उनले अडियो सार्वजनिक भएलगत्तै सञ्चार मन्त्रीबाट राजीनामा दिएर छानबिनका लागि बाटो खुला गरिदिएको बताएका थिए ।

२०७६ साल फागुन २८ गते बुधबार बिहान करिब पौने ८ बजेतिर बास्कोटाको उक्त घरको कम्पाउण्डमा भएको बम विस्फोटबाट घरसँगै छिमेकीको घरमा पनि क्षति भएको थियो । उक्त विस्फोटमा बास्कोटाका घरका सिसाहरुका साथै कम्पाउन्डको पर्खाल पनि भत्किएको थियो ।

तर, यसपटक उनको घर नजिकै शंकास्पद बस्तु भेटिएको थियो । उक्त वस्तु देखिएपछि नेपाली सेनाले डिस्पोज गराएको थियो । उक्त शंकास्पद वस्तुमा प्रेसरकुकरमा केही पत्रिका र तार रहेको जनाइएको छ ।

७० करोड अनियमिताको आरोप लागेपछि सामाजिक सञ्जालमा उनको चरम विरोध भइरहेपनि यसपटकको निर्वाचनमा भने उनी काभ्रेली जनताबाट अनुमोदित भइसकेका छन् ।

नेकपा एमाले अध्यक्ष केपी ओलीका विश्वासपात्र मानिएका बाँस्कोटा यसपटक काभ्रे क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका नेता शिव हुमागाईंलाई फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित भएका थिए । बाँस्कोटाले ४५ हजार ३ सय ४५ मत ल्याउँदा हुमागाईंले ३९ हजार ४ सय ८२ मत ल्याएका थिए ।

बेला–बेलामा अभिव्यक्तिका कारण विवादमा आईरहने बास्कोटाको भौतिक संरचनामाथि कसले आक्रमण गरेको भन्ने विषयमा अहिलेसम्म खुल्न सकेको छैन । किन उनीमाथि आक्रमणको प्रयास बारम्बार भईरहेको छ ? पहिलो आक्रमणको करिब ३ वर्षपछि उनैमाथि फेरि आक्रमण किन गरिएको छ ? यस बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ वा छैन ?

प्रतिक्रिया