

‘अबको तीन महिना अझै मूल्य बढ्छ’

काठमाडौं – अधिकांश नेपालीले अबको तीन महिनासम्म निरन्तर मूल्य बढ्ने अनुमान गरेका छन् । नेपाल राष्ट्र बैंकले गरेको एक सर्वेक्षणमा सहभागी भएकामध्ये करिब ८७ प्रतिशतले अबको तीन महिनामा अझै मूल्य बढ्ने बताएका हुन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदन अनुसार ८६.७ प्रतिशत उत्तरदाताले आगामी ३ महिनामा मूल्यबृद्धि हुने जवाफ दिएका छन् । राष्ट्र बैंकले गत असोज २३ देखि असोज २९ गते (अक्टोबर ०९ देखि १५ अक्टोबर, २०२२) सम्म ५७ सहरका ६० बजार क्षेत्रका व्यक्तिहरुसँग अन्तरवार्ता मार्फत सर्वेक्षण गरेको थियो । सो सर्वेक्षणमा २०४० व्यक्तिहरू सहभागी भएका राष्ट्र बैंकले जानकारी दिएको छ ।
सर्वेक्षणमा सहभागी भएकामध्ये ८६.६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी, ९५.७ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् ।
आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश असार, २०७९ को तुलनामा घटेको छ र अर्को एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश थोरै बढेको छ । खाद्य र खाद्य वस्तुको सबै उपसमूह, गैर–खाद्य वस्तु तथा सेवा र सबै उपसमूह तथा घरजग्गा (आवास) समूहमा आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश असार, २०७९ को तुलनामा घटेको छ ।
यस्तै, खाद्य र खाद्य समूह अन्तरगतका गेडागुडी, दाल, चिनी तथा मसाला र गैर–खाद्य र सेवा समूह बाहेकका अन्य समुह तथा उपसमूहमा एक वर्ष अगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश असार, २०७९ को तुलनामा केही घटेको छ ।
राष्ट्र बैंकका अनुसार तीन महिनापछिको मध्य (मिडियन) र एक वर्षपछिको मध्य अपेक्षित मुद्रास्फीति प्रक्षेपण २०७९ असारको तुलनामा घटेको छ । तीन महिना र एक वर्षपछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२.० प्रतिशत रहेको छ । व्यक्तिहरूले निकट अवधिमा मुद्रास्फीति घट्ने र मध्यम अवधिमा थोरै बढ्ने अपेक्षा गरेका छन् । नेपाल राष्ट्र बैंकले कसिलो नीति अवलम्बन गरे पश्चात अपेक्षित मूद्रास्फीतिमा कमी आउन थालेको देखिन्छ ।

