

दलितको साख जाेगाउने एक्ला छविलाल !
अहिलेसम्मको मतगणनाको नतिजाअनुसार देशभरबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एकमात्र दलित सांसद निर्वाचित, मुस्लिम शून्य

काठमाडौं – मंसिर ४ मा सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभामा एक जनामात्र दलित उम्मेदवार विजयी भएका छन् ।
प्रत्यक्षतर्फ उम्मेदवारी दिएका अन्य केही उम्मेदवार रहे पनि नेकपा एमालेबाट रुपन्देही–१ मा उम्मेदवारी दिएका छविलाल विश्वकर्मा मात्र प्रतिनिधिसभामा प्रत्यक्षमा निर्वाचित भएका हुन् ।
उनले रुपन्देही क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवार घनश्याम भुषाललाई पराजित गर्दै प्रतिनिधिसभामा जित हात पारेका हुन् । विश्वकर्माले २४ हजार ८८२ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार भुषालले २१ हजार ३ सय १८ मत ल्याएका थिए ।
मुस्लिम समूदायबाट भने प्रत्यक्षबाट एक जना पनि निर्वाचित बन्न सकेका छैनन् । हालसम्म घोषित १६२ जना विजयी सांसद मध्ये एक जना पनि मुस्लिम उम्मेदवार विजयी भएका छैनन् । र मतगणना भइरहेको तीन क्षेत्रमा पनि दलित र मुस्लिम उम्मेदवार मुख्य प्रतिस्पर्धामा देखिएका छैनन् । त्यसैले अबको प्रतिनिधिसभामा प्रत्यक्षबाट एक्ला दलित सांसदले प्रतिनिधित्व गर्दैछन् । निकटतम प्रतिस्पर्धीका रुपमा दुई जना उम्मेदवार आए पनि जित भने कुनै पनि मुस्लिम उम्मेदवारले हात पार्न सकेनन् ।
हरेक क्षेत्रमा पिछडिएको भनिँदै आएको दलित, राजनीतिमा झन् पछि परेको अहिलेकै नतिजाले छर्लङ्ग्याएको छ । दलित समूदायलाई टिकट दिँदा नै उपेक्षा गरिने गरिएको छ । सम्पन्न निर्वाचनमा मुख्य राजनीतिक दलहरुले ज्यादै नगन्य रुपमा दलित उम्मेदवारहरुलाई प्रत्यक्षमा उम्मेदवार बनाएका थिए । जबसम्म निर्वाचनको मैदानमा नै कम दलितहरुलाई पठाइन्छ तबसम्म चुनाव जितिँदैन र संसदमा प्रतिनिधित्व गर्न सकिँदैन ।
अहिलेसम्मको नतिजाअनुसार ९५ जना बाहुन क्षत्री उम्मेदवार विजयी भएका छन् भने जनजाती तर्फ २५ जना उम्मेदवार विजयी भएका छन् । नेवार समूदायलाई छुट्टै क्लस्टरमा राख्दाखेरी ९ जना नेवारी समूदायका उम्मेदवार विजयी भएका छन् भने थारू र मधेसी गरेर ३२ जना निर्वाचित भएका छन् । त्यस्तै दलिततर्फ १ जनाले जित हात पारेका छन् ।

