चालु पुँजी कर्जाको मार्गदर्शनलाई स्थगित गर्न महासंघको अनुरोध


काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघले चालु पुँजी कर्जाको व्यवस्था दुई वर्षलाई स्थगत गर्न माग गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले मंगलबार पत्रकार सम्मेलन गरेर उद्योग व्यवसायमा समस्या परेको समयमा लागू गर्न खोजिएको चालु पुँजी कर्जाको मार्गदर्शनलाई स्थगत गर्न अनुरोध गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले कात्तिक १ देखि लागू हुने गरेर चालु पुँजी कर्जाको मार्गदर्शन लागू गरेको थियो । लागू भएको एक महिनापछि केन्द्रीय बैंकले संशोधनका लागि सुझाव मागेको थियो । अध्यक्ष गोल्छाले चालु पुँजी कर्जाको व्यवस्था नराम्रो नभएपनि अहिले लागू गर्ने समय उपयुक्त नभएको बताए ।

‘अहिले मागको कमीको कारण बजारमा आर्थिक क्रियाकलाप सुस्त छ,’ अध्यक्ष गोल्छाले भने, ‘यस्तो अवस्थामा चालु पुँजीको अभावले व्यवसाय चलाउन नसक्ने अवस्था आएको छ । अहिले स्थगत गर्नु नै ठिक छ ।’

महासंघले राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बैंकहरूको ब्याजदर अन्तर (स्प्रेडदर) घटाउने नीति लिएको स्वागत गरेको छ । स्प्रेड घटाउने नीतिले ब्याजदर बढ्न नदिने भएपनि तत्काल ब्याजदर नघट्ने निचोड महासंघले निकालेको छ ।

पुस मसान्तपछि राष्ट्र बैंकले दिएको ६० अर्ब पुनरकर्जा केन्द्रीय बैंकमा फिर्ता जाने अवस्थामा रहेको र उद्यमी व्यवसायीलाई समस्या पार्ने र बजारमा तरलता अभाब थप हुने हुँदा एक वर्ष म्याद थप गर्न अनुरोध गरेको छ ।

बैंकहरूको अनिवार्य नगद मौज्दात (सीआरआर)लाई एक प्रतिशत बिन्दुले घटाउने तथा स्थानीय तहको पैसा निश्चित समयका लागि शतप्रतिशत निक्षेपमा गणना गर्न दिने सुविधा दिन महासंघले माग गरेको छ ।

पछिल्लो समय राजस्व संकलन लक्ष्य अनुसार नभएपनि शोधनान्तर बचतमा गएको तथा विदेशी मुद्राको सञ्चिति बढ्दो क्रममा रहेको स्थिति देखिएको भन्दै महासंघले राजनीतिक दललाई अर्थतन्त्रको समस्यामा गम्भीर हुन भनेको छ । अर्थतन्त्रको समस्यामा गम्भीर नभएर देश दुर्घटनामा जाने निष्कर्ष महासंघको छ ।

प्रतिक्रिया