मतगणना भईरहेका यी ६ क्षेत्र, कहाँ को अगाडि छन् ?


काठमाडौं – प्रतिनिधिसभाको मतगणना अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फ अहिलेसम्म १५६ स्थानको मतपरिणाम आइसकेको छ ।

त्यसमा नेपाली कांग्रेस पहिलो स्थानमा छ भने त्यसपछि क्रमशः नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।

देशभरका तीन क्षेत्रमा अहिलेसम्म मतगणना सुरु भएको छैन । दोलखा, स्याङ्जा र बाजुरामा विवाद देखिएकोले अहिलेसम्म मतगणना सुरु हुन नसकेको हो ।

त्यसबाहेक अहिले ६ वटा निर्वाचन क्षेत्रमा मतगणना भईरहेको छ । ती मध्ये ३ स्थानमा नेपाली कांग्रेस अग्रस्थानमा छ भने २ स्थानमा नेकपा एमाले र एक स्थानमा जसपाले अग्रता लिइरहेको छ ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालको क्षेत्र इलाम १ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले २ हजार भन्दा बढीको मतले अग्रता लिएका छन् । उनले २१ हजार ३१२ मत ल्याउँदा खनालले १९ हजार १७० मत ल्याएका छन् ।

त्यस्तै सुनसरी क्षेत्र नं. ३ मा एमालेकी भगवती चौधरीले २२ हजार ८ सय ४२ मत ल्याउँदा नेपाली कांग्रेसका विजय गच्छदारले १८ हजार २ सय ६७ मत ल्याएका छन् ।

त्यस्तै उदयपुर क्षेत्र नं. १ मा नेपाली कांग्रेसका डा. नारायण खड्का नेकपा एमालेकी मन्जुकुमारी चौधरी भन्दा करिब १ हजार ७ सय मतले अगाडि रहेका छन् । डा. खड्काले २१ हजा ८३३ मत ल्याउँदा चौधरीले २० हजा १२० ल्याएकी छिन् ।

त्यस्तै सुनसरी क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीले २३ हजार ४ सय ३९ मत ल्याउँदा नेकपा एमालेका जगदिशप्रसाद कुसियतले २३ हजार ३ सय ४१ मत ल्याएका छन् ।

त्यस्तै अर्को मतगणना भईरहेको क्षेत्र धनुषा क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका महेन्द्र यादव प्रतिस्पर्धी रघुवीर महासेठभन्दा करिब १ हजार मतले अगाडि रहेका छन् । यादवले २१ हजार २२४ मत ल्याउँदा महासेठल २० हजार २ सय ३ मत ल्याएका छन् ।

त्यस्ै सुनसरी प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राईले अग्रता लिएका छन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङलाई पछि पारेका हुन्। यसअघि तामाङले अग्रता लिँदै आएकी थिइन्। उनी हिजोसम्म पनि अग्र स्थानमा थिइन्।  ६६ हजार २५ मत गन्दा अशोककुमार राई चार मतले अगाडि परेका हुन्।

प्रतिक्रिया