राप्रपाले हराएका चार गृहमन्त्री !

बहालवालादेखि पूर्वगृहमन्त्री चारै जना राप्रपा उम्मेदवारबाट पराजित भए


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अहिलेसम्म ७ सिटमा जित हात पारेको छ । जारी मतगणनामा बहालवाला गृहमन्त्रीका साथै ३ पूर्वगृहमन्त्रालय सम्हालेका व्यक्तित्वहरुले पराजय भोगेका छन् । संयोगको कुरा के छ भने ती चारै जना गृहमन्त्रालय सम्हालेका मन्त्रीहरुलाई राप्रपाका उम्मेदवारहरुले पराजित गरेका छन ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देही क्षेत्र नं. ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरासँग हार ब्यहोरेका छन् । उक्त निर्वाचन क्षेत्रमा वर्तमान गृहमन्त्री खाँण २ हजार ६८१ मतले पराजित भए । निर्वाचित उम्मेदवार बोहोराले ३६ हजार ७१७ मत ल्याउँदा खाँणले ३४ हजार ३६ मत ल्याएका थिए ।

त्यस्तै नेपाली कांग्रेसबाट झापा ३ बाट उम्मेदवारी दिएका पूर्वगृहमन्त्री कृष्ण प्रसाद सिटौला राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पराजित गरेका छन् । लिङ्देनले ४० हजार ६६२ मत ल्याउँदा सिटौलाले ३७ हजार ३ सय ८६ मत ल्याएका थिए ।

त्यस्तै अर्का गृहमन्त्री कमल थापालाई पनि राप्रपाका दिपकबहादुर सिंहले पराजित गरेका छन् । थापालाई सिंहले मकवानपुर १ बाट पराजित गरेका हुन् । सिंहले २७ हजार ८ सय १६ मत ल्याएर जित हात पार्दा कमल थापा तेस्रो स्थानमा रहँदा २५ हजार ४२३ मत प्राप्त गरेका छन् ।

त्यस्तै नवलपरासी–२ मा गृहराज्यमन्त्री देवेन्द्रराज कँडेल पनि राप्रपाका उम्मेदवारबाटै नै पराजित बन्न पुगे । कँडेललाई पूर्व प्रहरी महानिरीक्षक एवं राप्रपा नेता धु्रवबहादुर प्रधानले पराजित गरे । प्रधानले ३४ हजार ७६४ मत प्राप्त गर्दा कँडेलले जम्मा १९ हजार ५९४ मत प्राप्त गरेका थिए ।

त्यस्तै विजयकुमार गच्छदार भने नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीसँग चुनावी मैदानमा भिडिरहेका छन् । मतगणना जारी रहेकै अवस्थामा उनलाई चौधरीले ५ हजार बढी मतअन्तरले पछाडी पारेकी छिन् ।

नेकपा माओवादीका अधिकांश गृहमन्त्रीहरुले निर्वाचन जितेका छन् । शक्तिबहादुर बस्नेत, जनार्दन शर्माले जित हात पारेका छन् । त्यस्तै खगराज अधिकारी कास्कीबाट प्रदेशसभामा निर्वाचित भएका छन् । अर्का पूर्वगृहमन्त्री विष्णु पौडेल रुपन्देही–२ बाट निर्वाचित भएका छन् ।

प्रतिक्रिया