चार जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’


पोखरा– २४ हेम्जास्थित हाइग्राउण्ड एडभेन्चर्सले दुई साताअघि शुरु गरेको ‘कपल बञ्जी च्यालेन्ज’ बाट चार जोडी विजेता बनेका छन् ।

कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेको बञ्जीमा जोडीको आर्कषण बढाउन कम्पनीले यही माघ एकदेखि १३ गतेसम्म देशभरीबाट च्यालेन्जमा सहभागी हुन आह्वान गरेको थियो । देशभरिबाट करिब पाँच सय जनाले कपल बञ्जी च्यालेन्ज स्वीकार गरी सहभागिता जनाएको कम्पनीका पोखरास्थित शाखा प्रबन्धक दिनेश महर्जनले जानकारी दिए ।

उनले भने, ‘कोभिड–१९ का कारण बन्द बञ्जी असोज १९ देखि सञ्चालनमा आएको हो । विशेषगरी आन्तरिक पर्यटकको रोजाइँमा बञ्जी परेको छ भने जोडीको आर्कषण पनि बढिरहेको छ । हामीले यसैलाई मध्यनजर गर्दै कपल बञ्जी च्यालेन्जका लागि देशभरीबाट आह्वान गरेका थियाैं ।’ उनले ‘च्यालेन्ज एक्सेप्ट’ गरेर पाँच सय जनाले सहभागिता जनाएको र लक्की ड्र मार्फत् चार जना विजेता हुन सफल भएको बताए । हाइग्राउण्ड बञ्जी नेपालको पहिलो टावर बञ्जी र एशियामा पहिलो व्यवसायिक टेन्डम भएको उनको भनाइ छ ।

लक्की ड्र बाट काठमाडौँका आयुष शाक्य, पोखराकी प्रीति गुरुङ, बुटवलका अनुप खड्का र काठमाडाैंका राजश्रीको जोडी विजेता बन्न सफल भएका छन् ।

सो अवसरमा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले आन्तरिक पर्यटकलाई साहसिक खेलमा आकर्षण गर्ने यस्ता कार्यक्रम सहयोगी हुने बताए ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष सुशीलराज पौडेलले पोखरामा साहसिक गतिविधि धेरै रहेकाले साहसिक खेलमा रुची राख्नेका लागि पनि पोखरा उत्कृष्ट गन्तव्य भएको बताए । ‘कल्चर नेचर र एड्भेन्चर्स’ पोखराको विशेषता रहेकाले यसलाई प्रवद्र्धन गर्न आवश्यक रहेको उनको भनार्इ छ ।

प्रवन्धक महर्जनका अनुसार विजेताले पोखरा लेकसाइडको तीन तारे होटलमा एक रातको खाना र बस्नको सुविधा र टेण्डम बञ्जीको उपहार प्राप्त गरेका छन् । त्यसैगरी फेब्रुअरी १४ अर्थात प्रणय दिवसको अवसरमा पनि कम्पनीले माघ १४ गतेदेखिनै ‘गिभ अ वे’ कार्यक्रम शुरु गरेको र त्यसको नतिजा फेब्रुअरी १० मा तीन जना विजेता छानिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया