कमल थापाले स्वीकार गरे हार


काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले निर्वाचनमा पराजय स्वीकार गरेका छन् । प्रतिनिधिसभा सदस्यतर्फ मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट उमेदवार रहेका थापाले हार स्वीकार गरेका हुन् ।

अन्तिम मतपरिणाम सार्वजनिक नहुँदै बिहीबार बिहान उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पराजय स्वीकार गरेका छन् । उनले लेखेका छन्, “पराजयलाई सहर्ष स्वीकार गर्दछु । हामीलाई मत दिनुहुने सबैमा आभार । ‘सूर्य’ चिह्न लिएर चुनाव लड्ने अवसर दिएकोमा नेकपा (एमाले)लाई धन्यवाद । चुनावमा रातदिन नभनी इमानदारपूर्वक खट्ने एमालेका सम्पूर्ण कमरेडहरू, राप्रपा नेपालका साथीहरूप्रति आभारी छु ।”

उनले हारजित स्वाभाविक भएको बताएका छन् । अबका दिनमा पनि राजनीतिमा सक्रिय रहने बताएका छन् ।

“देश र जनताको हितमा निरन्तर सक्रिय रहनेछु । २०७९ सालको चुनावले सकारात्मक परिवर्तनको पक्षमा दिएको सशक्त सन्देशलाई सबैले मनन गर्नु जरुरी छ । प्रजातान्त्रिक अभ्यासमा हारजित स्वाभाविक हो । व्यक्ति हारे पनि देश, जनता र लोकतन्त्र बलियो हुँदै जानुपर्छ,” उनले लेखेका छन् ।

प्रतिक्रिया