एमाले सचिव लेखराज भट्टलाई ज्यान मार्ने धम्की, दुई जना पक्राउ


काठमाडौँ – नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार बिहान कैलालीको गोदावरी नगरपालिका-१ अत्तरियास्थित भट्टको निवासमा पुगेर दुई जनाले ज्यान मार्ने धम्की दिएका हुन् ।

सचिव भट्टको घरमा प्रवेश गरेर ज्यान मार्ने धम्की दिने दुई जनालाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका – १४ का शेरबहादुर लामा र गोदावरी नगरपालिका(२ बस्ने दीपेन्द्र विकलाई पक्राउ गरिएको हो । दुवैलाई इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा राखिएको छ ।

उनीहरू घरमा प्रवेश गरेका बेला भट्ट धनगढीमा बिरामी भेट्न गएको स्वकीय सचिव हितेश ओझाले बताए । घरमा सहयोगीका रूपमा कार्यरत मनोज धामी र उनकी श्रीमती माया धामीलाई तिमीहरू र तिम्रो मन्त्रीलाई मारिदिन्छु भनेर धम्की दिएको ओझाले बताए ।

प्रतिक्रिया