

अहिलेको गठबन्धन लामो समयसम्म अघि बढ्छ : अध्यक्ष दाहाल

गोरखा – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अहिलेको लोकतान्त्रिक–वाम गठबन्धन लामो समयसम्म अघि बढ्ने बताएका छन् ।
आफू उम्मेद्वार रहेको गोरखा क्षेत्र नं २ का विभिन्न मतदान केन्द्रको अवलोकन गर्न चितवनमा मतदान गरेर आज गोरखा आइपुग्नुभएका उहाँले पत्रकारहरूसँग कुराकानी गर्दै अहिलेको गठबन्धन लामो समयसम्म जाने बताएका छन् ।
‘यो गठबन्धनलाई लामो समयसम्म अघि बढाउनुपर्छ भन्नेमा गठबन्धनमा आबद्ध सबै दल एकमत छन्,” उनले भने, “भोलि जसको नेतृत्वमा सरकार बने पनि गठबन्धन कायम रहन्छ । अध्यक्ष दाहालले आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने बारेमा गठबन्धन दलहरू बीचमा अहिले कुनै छलफल नभएकोसमेत बताए ।
उनले यस पटकको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अरू बेलाको जस्तो सामान्य निर्वाचन नभएको भन्दै यसलाई जनमत सङ्ग्रहका रूपमा लिन सकिने बताए । अध्यक्ष दाहालले यो निर्वाचन संविधानमा पटकपटक आक्रमण गर्ने र संविधानको रक्षा गर्दै विकास र समृद्धिको यात्रा सुरु गर्न चाहने बीचको प्रतिस्पर्धा गर्ने निर्वाचन रहेको उल्लेख गरे ।
गोरखा आएर अध्यक्ष दाहालले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने पालुङटार नगरपालिका–२, बडडाँडा, गोरखा नगरपालिकाको छेवेटार, बिरिनचोक, तेह्रकिलो, कुन्दुरटारलगायतका स्थानमा पुगेर मतदान केन्द्रको स्थलगत अवलोकन गरेका थिए।

