चालु आवका लागि तोकिएको १ खर्बको पुर्नकर्जा बढाएर २ खर्ब पुर्‍याउने तयारी


काठमाडौं – नेपाल राष्ट्र बैंकले पुर्नकर्जाको आकार बढाएर दोब्बर बनाउने तयारी गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ का लागि तोकिएको १ खर्ब बराबरको पुर्नकर्जा रकमलाई मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् बढाएर २ खर्ब पुर्‍याउने तयारी गरेको बताइएको छ ।

बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको संरक्षणका रूपमा राष्ट्र बैंकले यस्तो कर्जा उलपब्ध गराउँदै आएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिएका छन् । उनका अनुसार चालु आव लागि तोकिएको १ खर्ब बराबरको पुनर्कर्जा रकममध्ये ८५ अर्ब रूपैयाँ स्वीकृत भइसकेको छ भने बाँकी १५ अर्ब रूपैयाँका लागि माघ १६ गतेसम्म निवेदन माग गरिएको छ ।

बजारमा तरलतालगायतको परिस्थिति हेरेर आवश्यकताका आधारमा राष्ट्र बैंकले यसबारेमा चाँडै निर्णय गर्ने पनि उनले बताए । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा स्वीकृत भएको ८५ अर्ब रूपैयाँ बराबरको पुर्नकर्जामध्ये ७४ अर्ब रूपैयाँ बैंक खातामा गइसकेको पनि प्रवक्ता भट्टले जानकारी दिएका छन् ।

राष्ट्र बैंकले अन्तिम चरणका लागि माघ १६ सम्म म्याद राखेर पुनर्कर्जा माग आवेदन माग गरिएको छ । गत आर्थिक वर्षमा पुनर्कर्जाको सीमा ४२ अर्ब रूपैयाँ बराबर मात्रै थियो ।

प्रतिक्रिया