पैसा बाँडेको आरोप लागेका वडाध्यक्षको प्रश्न– आफ्नै स्टाफको बुवा बिरामी हुँदा पनि भेट्न नपाउने ?


काठमाडौं- पैसा बाँडेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका बूढानीलकण्ठको वडा नम्बर ६ का वडाध्यक्ष रवि खड्काले हार्ने डरले आफूहरूमाथि निराधार आरोप लगाइएको दाबी गरेका छन् ।

शुक्रबार राति पैसा बाँडेको आरोप लागेपछि प्रहरीले उनीसहित एमालेबाट काठमाडौं क्षेत्र नम्बर ५ (ख) का उमेदवार दीपक निरौला र अर्का एमालेकै नेता प्रदीप डंगोललाई नियन्त्रणमा लिएको थियो ।

खड्काले आफूहरू बिरामीलाई भेट्न गएको दाबी गरे । वडाको एकजना कर्मचारीको बुवा आठ वर्षदेखि बिरामी रहेको र उनले क्षेत्र नम्बर ५ (ख) का उमेदवार निरौलासँग भेट्न चाहेकाले आफूहरू उनको घरमा गएको खड्काको दाबी छ ।

“कांग्रेसीहरूको हारको कानसिकता हो । म बूढानीलकण्ठ–६ को वडाध्यक्ष हो । मेरो वडाको एकजना कर्मचारीको बुवा आठ वर्षदेखि बिरामी हुनुहुन्थ्यो । बुवाले दीपकजी (दीपक निरौला)लाई भेट्न एकदम रहर गर्नुभएको थियो । मैले दीपकजीसँग अस्तिदेखि समय मागिरहेको थिएँ । आज अलिकति फुर्सद निकालेर एकछिन छिरेको मात्र थियौँ, कांग्रेसीहरूले त्यहाँ आएर घेरेर तथानाम नारासारा लगाउन थाले,” बाह्रखरीसँगको कुराकानीका क्रममा खड्काले भने ।

कांग्रेस नेता कार्यकर्ताले हार्ने डरले विना आधार पैसा बाँडेको आरोप लगाएको उनको भनाइ छ ।

“न हामीसँग पैसा छ, न पैसाको ब्याग छ । उनीहरूले बितन्डा मच्चाएको भएर अहिले हामी चौकीमा बसिरहेका छौँ । उहाँहरूको हारको मानसिकता हो । वडाको स्टाफको बुवा बिरामी हुँदा पनि भेट्न जान नपाउने भन्ने हुन्छ ?,” उनले भने ।

काठमाडौं क्षेत्र नम्बर ५ (ख) का उमेदवार निरौलाले पनि आफू क्यान्सर रोगबाट पीडित तोक्मान लामासँग कुराकानी गर्न बताएका छन् ।

प्रतिक्रिया