बहुमतले प्रकाशमान रोज्दा चुनाव जित्ने पक्का !

अनौपचारिक रुपमा गरिएको सर्वेक्षणमा प्रकाशमानपछि एमालेका किरण पौडेलले मत ल्याउने देखिएको छ भने त्यसपछि मात्र क्रमशः रविन्द्र मिश्र, रमेश खरेल र पुकार बम


काठमाडाैं – सर्वाधिक चर्चामा रहेको काठमाडौं निर्वाचन क्षेत्र नं. १ मा प्रकाशमान सिंह अगाडि देखिएका छन् । लोकतान्त्रिक वाम गठबन्धन घटक नेपाली काँग्रेसका केन्द्रिय सदस्यसमेत रहेका सिंहलाई चुनावको मुखैमा गरिएको पछिल्लो सर्वेक्षणले लोकप्रिय देखाएको हो ।

सर्वेक्षणमा क्षेत्रका ७७ प्रतिशत मतदाताले आफूले कसलाई मत हाल्ने टुंगो लगाइसकेको बताएका छन् । नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहको पक्षमा तीमध्ये २३ प्रतिशत देखिएका छन् । सिंहको निकटतम प्रतिद्वन्द्वि नेकपा (एमाले)का किरण पौडेल देखिएका छन् । १५ प्रतिशत मतदाताले उनलाई मत दिने तय गरिसकेको सर्वेक्षणले देखाएको छ ।

काँग्रेसका सिंह ‘केन्द्रमा प्रभाव, क्षेत्रमा विकास’को मुलनारा लिएर चुनावी मैदानमा होमिएका हुन् । उनी यसै क्षेत्रबाट ३ पटक सांसद निर्वाचित भइसकेका छन् । विधानसभा निर्वाचन २०६४ र २०७० मा सभाषद बनेका सिंहले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई ८ सय मतले पराजित गरेका थिए ।

क्षेत्रको विकासमा क्रियाशिल देखिएका सिंह फेरि पनि निर्वाचत हुने पक्काजस्तो देखिएको छ । त्यसो त, प्रतिस्पर्धामा कुल ३२ जना उम्मेदवार रहेकाले पनि मत बाँडिनुको लाभ प्रकाशमानलाई हुने देखिएको छ ।

सिंहले आफू निर्वाचित भएपछि क्षेत्रमा करिब साढे २ सय विकास निर्माणको कार्य आफ्नो अग्रसरतामा सम्पन्न भएको दाबी गरेका छन् । उनले घोषणापत्र सँगै संलग्न गरेको एक पुस्तकका शैक्षिक संस्थामा पूर्वाधार निर्माण, सडक र ढल निर्माण तथा मर्मत लगायत काम उल्लेख गरेका छन् । सर्वेक्षणमा सहभागीले भ्रष्टाचारको आरोप नलागेका स्वच्छ छवीका प्रकाशनमानलाई जिताउनुको विकल्प नरहेको प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जालमा उल्लेखनीय लोकप्रियता देखाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र भने स्थानीयको जनमतमा पछि देखिएका छन् । उनको पक्षमा १३ प्रतिशत मतदाता देखिएका छन् । क्षेत्र नं. १ मा कडा प्रतिस्पर्धी मानिएका रविन्द्र मिश्रको पक्षको १३ प्रतिशत मतदाता देखिन्छन् । अघिल्लो निर्वाचनभन्दा उनको लोकप्रियता खस्किएको हो । सामाजिक सञ्जालमा मिश्र प्रभावकारी देखिए पनि सर्वेक्षणले बौद्धिक जमात उनको विपक्षमा देखाउँछ ।

क्षेत्रमा कुल ४५ हजार १८ जना मतदाता छन् । सिंह २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा १० हजार ९ सय ३६ मतसहित निर्वाचित भएका थिए । सो बेला उपविजेता बनेका मिश्रले ८ सय १८ मत कम पाएका थिए ।

वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत हिसाब गर्दा मत सबैभन्दा बढी नेपाली काँग्रेसले पाएको थियो भने एमाले दोस्रोमा रहेको थियो । काँग्रेसले ९ हजार ९ सय मत पाउँदा एमालेले ९ हजार ५ सय मत पाएको थियो । राप्रपाका वडाध्यक्ष उम्मेदवारले करिब १४ सयमात्र मत पाउँदा माओवादीका उम्मेदवारले करिब १२ सय मत पाएका थिए ।

यस्तै मेयरतर्फ नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले एमालेको भन्दा २ हजार बढी ६ हजार ७ सय मत पाएकी थिइन् ।

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनका अनिल शर्मालाई प्राप्त भएको ५ हजार ३ सय मत र एमालेको सांगठनिक मतको आधारमा पनि एमालेका उम्मेदवार मिश्रभन्दा अगाडि रहेको अनुमान गर्न सकिन्छ । सर्वेक्षणमा सहभागीहरुले पनि दल बदल्दै हिँड्ने र राजतन्त्रको पक्षधर बनेका मिश्रप्रतिको विश्वसनीयता घटेको प्रतिक्रिया दिएका छन् । तर, मिश्रलाई मत हाल्न तयार भएकाहरुले फेरि पनि पुरानै मुहार देख्न नचाहेको प्रतिक्रिया दिएका छन् ।

“प्रकाशमान सिंहले कहिल्यै पनि जनतालाई ढाँट्नु भएको छैन,” सर्वेक्षणमा सहभागी एक मतदाताले भने, “उहाँ स्वच्छ छविको र कुनै भ्रष्टाचारको आरोप नलागेको नेता हुनुहुन्छ ।” उनले क्षेत्रको विकासमा निकै काम गरेको र बाँकी काम सम्पन्न गर्नका लागि पनि प्रकाशमानलाई फेरि जिताउनु पर्ने आवश्यकता रहेको ती सहभागीले बताए ।

मिश्रलाई भोट दिने तय गरेका मतदाताले भने, “उहाँको म आलोचनात्मक टिप्पणी गर्ने मान्छे हो । उहाँले भ्रष्टाचार गर्नु आमाको रगत पिए बराबर हो भन्नु भएको छ । हामीलाई यस्तै नेताको आवश्यकता छ ।” पढेलेखेको मान्छे भएकाले पनि रवीन्द्रलाई जिताउनु पर्ने रवीन्द्र पक्षधर मतदाताको तर्क छ ।

सिंहको आलोचना गर्नेले उनीमाथि बुबा गणेशमान सिंहको नामको ब्याज अहिलेसम्म खाइरहेको आरोप लगाउने गरेका छन् । मिश्रको पक्ष नलिनेले उनलाई गल्ती, बेइमानी र घात दिएर आफ्नै पार्टी विवेकशील साझा सिध्याएको आरोप लगाएका छन् ।

एमालेका युवा नेता किरण पौडेल स्पष्ट वक्ता र आरोपमा नमुछिएका नेता हुन् ।

सर्वेक्षणमा सहभागी २६ प्रतिशतले भने कसलाई मतदान गर्ने तय गरिसकेका छैनन् । सर्वेक्षणमा ७ प्रतिशतले आफूले कसलाई मत दिने भन्ने बताउन चाहेनन् ।

यसै क्षेत्रमा सुशासन पार्टीबाट उम्मेदवार रहेका रमेश खरेललाई ८ प्रतिशत मतदाताले मत हाल्ने टुंगा लगाइसकेको प्रतिक्रिया दिएका छन् । खरेलको विशेष प्रभाव काठमाडौं महानगरको वडा नं. १० र ३१ मा देखिएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन पाएका स्वतन्त्र उम्मेदवार पुकार बम युवा वर्गमा लोकप्रिय देखिएका छन् । ७ प्रतिशत मतदाताले पुकारलाई मत हाल्ने बताएका छन् । विशेष गरी स्वतन्त्र अभियानको लहरले थप मतदातालाई आकर्षित गर्ने अनुमान लगाइएको छ ।

स्वतन्त्रका पुकार बमले भुकम्प र नाकाबन्दीका बेला गरेको काम, विभिन्न अभियानमा दिएको साथका कारण मतदाताले मन पराएका छन् । खरेललाई भने उनको इमान र छविका कारण रुचाउने संख्या अत्यधिक छ ।

उल्लेखितसँगै अधिवक्ता बालकृष्ण नेउपाने, विवेकशील नेपालीका शंकर बञ्जाडेलगायत कुल ३२ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गरेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा प्राप्त मतलाई जोड्दा ११ हजारभन्दा बढी मत हुन्छ । त्यसमा गठबन्धन गरेको एकीकृत समाजवादीको मतसमेत सिंहलाई प्राप्त हुने अपेक्षा गरिएको छ । सिंह पूर्वउपप्राधनमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री हुन् । सिंह संविधानको रक्षा तथा पूर्ण कार्यान्वयन, संघीय कानुन निर्माण र क्षेत्रको विकासको मुल एजेन्डा लिएर निर्वाचनमा होमिएका छन् ।

२०७४ को चुनावमा सिंहका निकटतम् प्रतिस्पर्धी मिश्र पनि दोस्रो पटक यही क्षेत्रमा चुनाव लड्दैछन् । मिश्र वैकल्पिक राजनीति गर्ने भन्दै पत्रकारिता पेसा छाडेर राजनीतिमा प्रवेश गरेका थिए तर उनी दुई महिनाअघि मात्रै वैकल्पिक राजनीतिको एजेन्डा त्यागेर राजतन्त्रको मुल मुद्दा अघि सारेको राप्रपामा प्रवेश गरेका हुन् ।

मिश्रले चरम राजनीतिक हस्तक्षेपको अन्त्य, भ्रष्टाचार नियन्त्रण तथा सुशासनलगायत एजेन्डा अघि सारेका छन् । एमालेका पौडेल भ्रातृ संगठन युवा संघ नेपालका अध्यक्ष हुन् । उनले समृद्धि र सुशासन, युवा नेतृत्वको नारा अघि सारेका छन् ।

युवा नेता पुकार बमले संविधानको व्यवस्थाअनुसार कार्यान्वयन नभएका नागरिकको जनजीविकाको परिवर्तनका लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् । उनले सक्षम, अनुभवी पुस्ता संसद्भित्र आउनुपर्ने, एउटै व्यक्तिले सिंहदरबारभित्र पहुँच र पद होल्ड गर्ने कार्य बन्द हुनुपर्नेजस्ता एजेन्डा अघि सारेका छन् ।

यस्तै नेपाल सुशासन पार्टी खोलेका खरेलले मुलुकभित्रको विकृतिको अन्त्य गर्दै सुशासन कायम गर्न उम्मेदवारी दिएका हुन् ।

प्रतिक्रिया