


रवि लामिछानेको नागरिकता विषयमा आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेलाई नागरिकता सम्बन्धी विवादमा स्पष्टीकरण सोधेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार लामिछानेलाई बुधबार स्पष्टीकरण सोधिएको हो ।
पत्रको जवाफ र पेस भएका कागजात आयोगको कार्यालयमा पठाइने आचार्यले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट चितवन क्षेत्र नं २ का उम्मेदवार बनेका रवि लामिछानेको नागरिकता अवैध भन्दै उम्मेदवारी खारेजीका लागि उजुरी परेपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको हो ।
आयोगले पठाएको स्पष्टीकरण लामिछानेको पार्टीको चितवन जिल्ला सचिवले बुझेका छन् । लामिछानेले विदेशी नागरिकता लिने क्रममा नेपाली नागरिकता नत्यागेको भन्दै उनको उम्मेदवारी खारेजी माग गर्दै दुई जनाले सोमबार निर्वाचन आयोगमा उजुरी हालेका थिए ।
रवि लामिछानेको नागरिकता विवाद : उठेका प्रश्न र कानुनी प्रावधान
यद्यपि लामिछानेले यसबारे बुधबार फेसबुक लाइभ मार्फत् आफूले यसबारे ४ वर्षअघि नै प्रष्ट पारिसकेको बताएका छन् । साथै उनले आयोगले सोधेको स्पष्टीकरणमा उचित जवाफ दिने प्रतिक्रिया दिएका छन् ।
साथै बुधबार साँझ नवलपरासीको सभालाई सम्बोधन गर्दै लामिछानेले आफ्नो उम्मेदवारी खारेज गरिदिए पनि जनताको सेवा गर्न आफूलाई कसैले रोक्न नसक्ने चेतावनी दिएका थिए ।

