गच्छदारको तीन दशककाे विजययात्रामा पूर्णबिराम लगाउने दाउमा चौधरी


काठमाडौं –  नेपालको संसदीय राजनीतिमा अपराजित यात्रा तय गर्दै आएका नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सातौं पटक प्रतिष्पर्धामा छन् ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि भएका चार वटा प्रतिनिधि सभा र दुईवटा संविधान सभा सदस्य निर्वाचनमा सँधै विजयी हुँदै आएका विजयकुमार गच्छदार साँच्चैको विजयी हुँदै आएका छन् ।

यस पटकको निर्वाचनमा गच्छदारलाई यसअघिका दुई वटा निर्वाचनमा चार सय भन्दा कम मतले पराजित हुँदै आएकी चिरपरिचित प्रतिष्पर्धी भगवती चौधरीलाई नेकपा एमालेले उम्मेदवार बनाएको छ ।

गच्छदार यो पटक पनि विगत तीन दशकदेखि संसदीय निर्वाचनमा उम्मेदवार हुँदै आएको सुनसरी निर्वाचन क्षेत्र नम्वर ३ बाट उम्मेदवार भएका छन् । २०४८, २०५१, २०५६को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट, २०६४ को संविधानसभा निर्वाचनमा मधेशी जनअधिकार फोरमबाट, २०७०को संविधानसभा निर्वाचनमा मधेशी जनअधिकारी फोरम लोकतान्त्रिकबाट र २०७४ मा पुन नेपाली कांग्रेसबाट उम्मेदवार भइ विजयी भएका हुन् ।

पटक पटक गरी १२ पल्ट मन्त्रिपरिषद्को राज्यमन्त्री, मन्त्री र उपप्रधानमन्त्री भएका गच्छदार यो सातौं पटक पनि चुनाव जित्ने दाउमा छन् । यो पटक उनलाई सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा माओबादी केन्द्र र नेकपा (एकीकृत समाजबादी)को समर्थन र सहयोग छ ।

सँधै गच्छदारलाई टक्कर दिँदै आएकी एमाले नेतृ भगवती चौधरी सामाजिक क्षेत्रमा स्थापित महिला नेतृ मात्र होइन, सहकारी आन्दोलनकी अगुवा पनि हुन् । त्यसैले बारम्बार सत्तामा बसेर निर्वाचन लडेका गच्छदारलाई उनै चौधरीले सँधै चुनौति दिने गरेकी छन् ।

गत वैशाखमा भएको निर्वाचनमा गठबन्धन दलहरुले प्राप्त गरेको मतभारलाई हेर्दा समेत गठबन्धन दलको मत र एमाले एक्लैको मतभार करिव दुई हजारको मात्र फरक छ ।

सुुनसरी क्षेत्र नम्वर तीनमा पर्ने स्थानीय तहमा खसेको मतलाई हेर्दा कांग्रेसको पक्षमा ३३ हजार ५७१, माओबादी केन्द्रको पक्षमा तीन हजार ८०० र नेकपा एसको पक्षमा ६२६ मत देखिन्छ ।

गठबन्धनमा रहेका तीन दलको मत जोड्दा ३७ हजार ९९७ रहेको छ भने एमालेको मात्र ३५ हजार ५३ मत देखिन्छ । यहाँ एमालेका उम्मेदवार चौधरीसँग जनता समाजबादी पार्टीले तालमेल गरेको छ । गत स्थानीय तहको निर्वाचनमा जसपाले पाँच हजार ५१६ मत ल्याएको थियो ।

सत्ता गठबन्धनसँग तालमेल गरेको लोकतान्त्रिक समाजबादी पार्टीले यहाँ आफ्ना उम्मेदवार देबना यादवलाई उठाएको छ । राप्रपाले भने कुलदीप चौधरीलाई उम्मेदवार बनाएको छ । स्वतन्त्र उम्मेदवार किशोर कुमार विश्वासले थारु बाहुल्य क्षेत्रको मत तान्ने देखिन्छ ।

कांग्रेस र एमाले नेतृत्वको दुवै गठबन्धनको मत गच्छदार र चौधरीलाई आएमा स्थानीय तहमा पाएको मतभार हेर्दा गच्छदारको अपराजित यात्रामा चौधरीले पूर्णबिराम लगाउन सक्ने सम्भावना देखिएको छ ।

गच्छदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा कीर्ते प्रकरणमा अभियोग लगाउँदै विशेष अदालतमा मुद्धा दायर गरेपछि गच्छदारको क्रेज मतदातामा घटेको एमाले उम्मेदवार भगवती चौधरीको दाबी छ । तर गच्छदार भने आफुले विगतमा क्षेत्रमा गरेको विकास निर्माणको कार्यलाई देखेर नै मतदाताले मत हाल्ने दाबी गर्छन् ।

प्रतिक्रिया