राप्रपाका उमेदवार गैरे कांग्रेसमा प्रवेश


बुटवल- आसन्न मसिंर ४ गते हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ पाल्पा क्षेत्र नम्वर २ बाट उमेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)का जिल्ला अध्यक्ष खडानन्द गैरे नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रतिनिधिसभा सदस्यको उमेदवारका लागि मत माग्दै घरदैलो अभियानमा सक्रिय रहँदै आएका गैरे कांग्रेस प्रवेश गरेका हुन् ।लामो समय राप्रपाको राजनीतिमा सक्रिय उनले एक विज्ञप्ति जारी गर्दै राप्रपा पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको घोषणा गरेका छन् ।

नेपाली कांग्रेसको आदर्श र सिद्धान्तलाई आत्मसाथ गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेको उनले बताए । “राप्रपा सदाका लागि परित्याग गर्दै आजैको मितिदेखि मेरो उमेदवारी निष्क्रिय रहेको र कांग्रेससँगको सहकार्यमा आगामी निर्वाचनमा उमेदवार बनेका सत्ता गठबन्धन दलका उमेदवारलाई मेरो पूर्ण समर्थन र सहयोग रहने छ,” विज्ञप्तिमा भनिएको छ ।

गैरेलाई नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले कांग्रेसको सदस्यता हस्तान्तरण गरेका छन् । उनले पार्टीमा नेता गैरेलाई स्वागत गर्दै पार्टीमा उचित स्थान दिने बताए ।

प्रतिक्रिया