

रुकुम पूर्वका ३ वटै क्षेत्रमा ‘बागी’ को डर

रुकुम पूर्व – प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आउन छ दिनमात्रै बाँकी रुकुम पूर्वका उम्मेदवारले चुनाव प्रचारप्रसार तीव्र पारेका छन् । मनोनय दर्तापछि घरदैलो हुँदै सुरु भएको प्रचारप्रसार यति बेला सभा, भेला, आन्तरिक छलफलमा केन्द्रित छ । रुकुम पूर्वमा प्रतिनिधि सभामा एउटा र प्रदेश सभामा दुई वटा निर्वाचन क्षेत्र छन् । यी तीन वटै निर्वाचन क्षेत्रमा बागी उम्मेदवारीले चुनाव प्रतिस्पर्धात्मक बनेको छ ।
पाँच दलीय गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र) का पूर्णबहादुर घर्ती मगर उम्मेदवार छन् । तर उनको विरुद्धमा माओवादी केन्द्रका चन्द्रराज झाँक्री बागी उम्मेदवार छन् । यस क्षेत्रमा नेकपा एमालेका कैलाशकुमार मल्ल उम्मेदवार छन् । मल्ल यसअघि माओवादी केन्द्रमा थियो । उनी गएको पालिका चुनावअघि एमालेमा प्रवेश गरेका थिए । तीन जना उम्मेदवार नै विगतमा माओवादी पृष्ठभूमिबाट आएकाले मत कसले बढी तान्छ भन्नेमा बहसको विषय बनेको छ ।
रुकुम पूर्वमा विगतका चुनावको मत परिणाम हेर्दा माओवादी केन्द्र बलियो देखिन्छ । माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर घर्ती गएको चुनावमा प्रदेश सभा (ख) बाट निर्वाचित भइ लुम्बिनी प्रदेशको सभामुख निर्वाचित भइसकेका छन् ।
यस्तै प्रदेश सभा (क) मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका तेजबहादुर ओली उम्मेदवार छन् । उनी गएको चुनावमा यसै क्षेत्रबाट विजयी थिए । तर यस पटकको चुनावमा उनीविरुद्ध सुरुल पुनले बागी उम्मेदवारी दिएका छन् । नेकपा एमालेले पनि पुनलाई नै समर्थन गरिसकेको छ ।
प्रदेश सभा (ख) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका धनबहादुर केसी उम्मेदवार छन् । तर सत्ता गठबन्धनको उम्मेदवारविरुद्ध माओवादी केन्द्रका केशव रावलले बागी उम्मेदवार दिएका छन् । रावल माओवादी केन्द्र विद्यार्थी सङ्गठनका केन्द्रीय उपाध्यक्ष हुन् । उनीहरूसँग प्रतिस्पर्धामा नेकपा एमालेबाट भावना बुढाथोकी उम्मेदवार छन् ।
माओवादी र कांग्रेसबीचमा चुनावका लागि गठबन्धन भए पनि पार्टीभित्रको असन्तुष्टिको फाइदा एमाले उम्मेदवारलाई हुनसक्ने आँकलन गरिएको छ । गएको पालिका चुनावमा तीन वटै पालिका प्रमुख र दुई वटा गाउँपालिका उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए भने एमाले–कांग्रेस गठबन्धनबाट एमाले उम्मेदवारले एउटा पालिका उपप्रमुख जितेको थियो ।
गएको पालिका चुनावमा ३१ वडामध्ये नेकपा माओवादी केन्द्रले २२ वटा, नेपाली कांग्रेसले तीन र नेकपा एमालेले छ वटा वडामा जित हासिल गरेका थिए । सत्ता गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पूर्णबहादुर घर्ती मगरले सङ्घीयता कार्यान्वयन र यस क्षेत्रको विकास र समृद्धिलाई प्राथमिकतामा राखेको दाबी गर्दै आएका छन् ।
‘पहिलो कार्यकालमा कृषि, शिक्षा, स्वास्थ्यलगायतको क्षेत्रमा विभिन्न काम सुरु गरेको छु, अब त्यसलाई पूर्णता दिन र नयाँ एकीकृत योजनाका साथ काम गर्नेछु’, उनले भने । जनतालाई ठूलो आश देखाउनुभन्दा यहाँका समस्या समाधानमा केन्द्रित हुने उनको भनाइ छ । नेकपा एमालेका उम्मेदवार कैलाशकुमार मल्लले पनि कृषि, शिक्षा, स्वास्थ्य, रोजगारीलाई चुनावी एजेन्डा बनाएको छ ।
प्रदेश सभाको निर्वाचन क्षेत्र नम्बर (क) मा गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका तेजबहादुर ओलीले सडक निर्माण तथा विस्तार, एकीकृत बस्ती विकास, खानेपानी, बिजुली, सञ्चारको मुद्दा अगाडि सार्नुभएको छ ।
‘घरघरमा इन्टरनेटको पहुँच, सामूहिक र आधुनिक कृषिका लागि अनुदान, सहुलियतमा ऋण, उत्पादनको बजारीकरण, प्रशोधन, पर्यटनको विकास मेरा मुख्य एजेन्डा हुन्’, उहाँले भन्नुभयो । उहाँले खानी र वनजन्य उद्योगमार्फत अर्थतन्त्रमा सुधार, खेलकुद, शिक्षामा व्यवस्थित पूर्वाधार, सेवा प्रवाहमा सुशासन, समावेशिता, पारदर्शिताका लागि काम गर्ने उहाँको भनाइ छ ।
त्यसैगरी स्वतन्त्र उम्मेदवार सुरुल पुनले यहाँको भूगोल, समुदाय, जातिका मुद्दालाई मुख्य एजेन्डा बनाउनुभएको छ । पिछडिएको क्षेत्र, वर्ग र समुदायबाट नेतृत्व गर्दै विकासलाई विशेष जोड दिने उनको दाबी छ । निर्वाचन क्षेत्र नम्बर (ख) का गठबन्धनका उम्मेदवार धनबहादुर केसीले भने आफू निर्वाचित भए सरकारी सेवा सुविधा नलिने वाचा गरेका छन् ।
नेकपा एमालेकी उम्मेदवार भावना बुढाथोकीले स्वास्थ्य र शिक्षाको गुणस्तर सुधार, कृषिको व्यावसायिकीकरणका लागि काम गर्ने बताए ।प्रदेश सभा (ख) का स्वतन्त्र उम्मेदवार केशव रावलले पनि स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, रोजगार÷स्वरोजगार, भौतिक पूर्वाधार तथा यातायात, विद्युत् तथा सञ्चार, खानेपानी र सरसफाइका क्षेत्रमा काम गर्ने दाबी गरेका छन् ।
तर पटक–पटक निर्वाचित भए पनि नेताहरूले अपेक्षा गरेअनुसारको विकास नगरेको सिस्ने गाउँपालिका ५ की फुर्ची बुढाको भनाइ छ । ‘स्थानीयस्तरमै रोजगारी नहुँदा कैयन् युवा विदेशिन बाध्य भएका छन्, यो समस्या समाधान भए जीवनस्तर सहज हुने थियो ।’
भौगोलिक दृष्टिले विकट मानिने यस जिल्लामा कुनै ठाउँबाट वडा कार्यालयसम्म पुग्न पनि एक दिनको समय लाग्छ । यहाँका नागरिकले सामाजिक सुरक्षाबापतको भत्तामा बैकिङ प्रणालीबाट सहज नभएको भन्दै वडा कार्यालयले नै वितरण गर्नुपर्ने माग गरेका छन् ।
निर्वाचन कार्यालयका अनुसार चुनावको सबै तयारी पूरा भइसकेको छ । कार्यालयले कात्तिक १८ देखि मतदाता शिक्षा सञ्चालन गरिरहेको छ । जिल्लामा ४४ वटा मतदानस्थल र ५६ वटा मतदान केन्द्र छन् । साथै एउटा अस्थायी मतदानस्थल थप गरिएको मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले बताए । उनका अनुसार मदतानस्थल र मतदान केन्द्रमा सुरक्षाकर्मी र स्वयमसेवकबाहेक चार सय ४८ जना कर्मचारी खटिने छन् ।
जिल्लामा मतपत्र ढुवानी र प्याकिङको काम पूरा भएको छ । मुख्य निर्वाचन अधिकृत घिमिरेका अनुसार मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइसकिएको छ । जिल्लामा ३४ हजार एक सय १२ मतदाता छन् । जसमा महिला १६ हजार आठ सय ९७ र पुरुष १७ हजार दुई सय १५ छन् ।
तीन वटामात्र गाउँपालिका रहेको जिल्लामा ३१ वटा वडा छन् । पुथा उत्तरगङ्गा गाउँपालिकाका १४ वटा वडा र भूमे गाउँपालिकाका १, २, ३, ६ र ७ नम्बर वडा प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (क) मा पर्छन् । प्रदेश सभा (क) मा भूमे गाउँपालिकाका ४, ५, ८ र ९ नम्बर वडासँगै सिस्ने गाउँपालिकाका आठ वटा वडा पर्छन् ।

